सशस्त्रमा डिआईजी बढुवाको लागी सुचना प्रकाशित,सात पदमा एक दर्जनबीच प्रतिस्पर्धा


काठमाण्डु– सशस्त्र प्रहरीमा डिआईजी बढुवाको प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले डिआईजी बढुवाको लागी विहिवार सुचना प्रकाशित गरेका छन् । सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त छ ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिका सदस्य सचिव केसीले जारी गरेको सुचनामा सात दिन सशस्त्र प्रहरी उपरिक्षकहरुले आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि सुचना प्रकाशित भएको सात दिन भित्र बुझाउन भनिएको छ ।

सशस्त्रमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्रमा आएका र हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाएका थिए । रिक्त सात जना डिआईजीको लागी एक दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।

बढुवाका लागी कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ । सुरक्षा निकायमा समितिले दिने नम्बरमा नै बढी चलखेल हुंदै आएको छ । आफु निकटकालाई अगाडी ल्याउन यो प्रावधानलाई टेक्ने काम हुने गरेको सशस्त्रकै अधिकारीहरु बताउंछन् ।

बढुवाका लागी एसएसपी अभिकुमार खत्री पहिलो नम्बरमा छन् । उनी एसएसपी भएपनि वरियतामा पहिलो नम्बरमै भएकाले अहिले ६ नम्बर बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।  सशस्त्रमा प्रदेश प्रमुख भएर पठाउने डिआईजीको दरबन्दी नहुंदा वरियताको आधारमा उनलाई कर्णाली प्रदेशमा पठाइएको हो । उनी सशस्त्रमा निमित्त बाहिनीपतिको जिम्मेवारी सम्हालिरहेका एक मात्र एसएसपी हुन् ।

त्यसपछि वरियताकै आधारमा शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन् । सुवेदी खत्री,ठाडामगर, भट्टराई र गिरीभन्दा अघिल्लो ब्याचका भएपनि एसएसपीमा बढुवा हुंदा दोस्रो नम्बरमा बढुवा भएका थिए । एसएसपी ठाडामगर हाल सशस्त्रको इन्टेलिजेन्स विभागको प्रमुख छन् । एसएसपी भट्टराई सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र गिरी बराह बाहिनीमा कार्यरत छन् ।

उनीहरू पांचै जना १७ चैत २०७३ मा एसएसपीमा एकै दिन बढुवा भएका थिए । त्यसपछि उनिहरुकै ब्याचका बैकल्पिक रहेका एसएसपी कुलबहादुर नेम्वाङ त्यसको केही समयपछि एसएसपीमा बढुवा भएका थिए । त्यसपछि एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक बढुवाको लागी प्रतिस्पर्धामा छन् ।

रिक्त सात डिआईजीमा खत्री, सुवेदी, ठाडामगर, भट्टराई, गिरी र नेम्वाङ डीआईजी हुने लगभग निश्चित छ । तर अर्को एक पदका लागी भने आधा दर्जन एसएसपीहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement