शान्ति स्थापनार्थ खटिँदा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने काम गर्न एआईजी केसीको निर्देशन 


काठमाडौं– सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले संगठनका राष्ट्रसेवक कर्मचारीहरु द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्य सम्पादन गर्नेतर्फ कृयाशिल रहन निर्देशन दिएका छन् ।  संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयूको रुपमा कार्य गर्न खटिई जान लागेको टोलीलाई विदाई गर्दै एआईजी केसीले उक्त कुरा बताएका हुन् ।  

अपरेशन विभागको जिम्मेवारीमा रहेका एआइजी केसीले त्यहाँको जनताको मर्म, धर्म र संस्कृतिमा कुनै खालको असर नपर्ने गरी व्यावसायीक एवं जिम्मेवारीपूर्वक संयुक्त राष्ट्रसंघको मर्मअनुसार कार्य गर्न निर्देशन दिए । उनले साउथ सुडानका जनताको सेवा, सहयोग र सुरक्षाको लागि अनुशासित एवं ईमान्दार भई लाग्नुपर्ने बताए । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले एफपीयू टोलीले शान्ति सुरक्षा गर्ने कार्यमा प्राप्त अनुभवलाई मिसन इलाकामा समेत सदुपयोग गर्दै सामुहिक भावनाका साथ प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गरे ।  

सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानको बोरमा खटिई जाने सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल १ सय ४० जना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement