काठमाण्डु – रौतहटमा सशस्त्र प्रहरीले ४७ लाख ७४ हजार ५०० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा नम्बर ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले बुधबार गौर नगरपालिका–४ टिकुलियास्थित स्थानीयको घरबाट मोबाइल पार्ट्स बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीको कमान्डमा खटिएको टोलीले घरमा लुकाइछिपाइ राखिएको मोबाइल पार्ट्ससँगै बीआर–ओएए–३४६३ र बीआर–३०२–३२३९ नम्बरका २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद मोबाइल पार्ट्सको मूल्य ४७ लाख ७४ हजार ५०० रुपैयाँ र २ वटा मोटरसाइकलको मूल्य २ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ । दुवै सहितको भन्सार दाखिला मूल्य ५० लाख १४ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद मोबाइल पार्ट्स तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।
कञ्चनपुरमा ७ लाखभन्दा बढीको कच्चा पदार्थ बरामद
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्याउलेटोलबाट सशस्त्र प्रहरीले ७ लाख ४१ हजार रुपैयाँ बराबरको आल्मुनियम बनाउने कच्चा पदार्थ बरामद गरेको छ । बुधबार विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले स्थानीयको घरनजिक बेवारिसे अवस्थामा राखिएको ७४ बोरा कच्चा पदार्थ बरामद गरेको हो ।
बरामद सामग्रीको तौल ३ हजार ८०० किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण कञ्चनपुर मातहतको टोलीले बरामद गरेको कच्चा पदार्थ आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
कच्चा पदार्थ भारततर्फ चोरीनिकासी गर्न लागिएको हुन सक्ने आशंका गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।




प्रतिक्रिया