हलचोकका कमाण्डरः हिरो बन्ने कि जिरो ?


काठमाडौं– २७ चैतको क्याबिनेटको निर्णयबाट सशस्त्र प्रहरी बलको महानिरिक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । दुई कडा प्रतिस्पर्धीलाई पाखा लगाउँदै सशस्त्रको नयाँ नेतृत्वमा पुगेका खनाल काठमाडौंका स्थायी बासिन्दा हुन् ।

२०४९ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनको जन्म २०२३ सालमा भएको हो । उनी २०५८ सालमा अर्धसैन्य बल सशस्त्र गठन भएपछि प्रहरीबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

एमएसम्म अध्ययन गरेका खनाल औसत प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । सशस्त्रको हेडक्वार्टरले मिडियाहरुलाई उपलब्ध गराएको उनको बायोडाटामा उनले अपराध अनुसन्धान, कमाण्ड, कर्मचारी ब्यवस्थापनलगायतका १८ भन्दा बढी तालिम देश विदेशबाट लिएको उल्लेख छ ।

सुडान, लाइबेरिया र कोसोभोमा मिसनमा गइसकेका खनालले सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विकास विभाग, राजस्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, अन्वेषण तथा विकास निर्देशनालय, सशस्त्र प्रहरी बल नेपालका बाहिनी, तालिम केन्द्र, गण लगायताका कार्यालयहरुमा प्रमुख भएर जिम्मेवारी समेत सम्हालिसकेका छन् । सशस्त्र प्रहरीमा रहँदा उनले सम्हालेका ६ वटा उच्चस्तरीय जिम्मेवारीहरुमा आलोचनामुक्त भने छैनन् ।

धेरै ठाउँको अनुभव र झण्डै २६ वर्ष प्रहरी सेवामा बिताएका खनालका लागि सशस्त्र प्रहरीको मुख्यालयको जिम्मेवारी सम्हाल्नु पाउने आफैमा ठूलो भाग्य त हो नै । तर, सशस्त्र कमाण्ड बागडोर सम्हाल्दैं गर्दा उनले तरबारको धारमा यात्रा गर्नुपर्ने चुनौती छ । संगठनलाई ब्यवस्थित गर्ने, भताभुंग अवस्थामा रहेको सशस्त्रको सांगठनिक जीवनलाई दह्रो बनाउने, चेन अफ कमाण्ड र विधीको स्थापना गर्नुपर्ने ठूल्ठूला चुनौतीका पहाडहरु खनालका अगाडि छन् ।

यसका साथै, सशस्त्रमा राजनीति हस्तक्षेपमुक्त पार्नु र संगठनमा विद्यमान गुट भत्काउनु पनि उनका लागि त्यति सहज पक्कै छैन् । एआईजी बढुवापूर्व खनालभन्दा कार्यक्षमतामा उत्कृष्ट रहेका र क्रमसः १ र नम्बरमा बढुवा भएका दुई एआईजी पुष्पराम केसी र नारायणबाबु थापा उनका प्रतिस्पर्धी थिए । यी दुई उच्च प्रहरी अधिकारीलाई सम्मानपूर्वक काममा फर्काउनु र उनीहरुलाई आफू मातहतमा काममा लगाउनु पनि उनलाई सहज हुने छैन् । यसबाहेक सशस्त्रमा केही समय अघि बढुवा भएका एआइजीहरुको ब्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण कार्य हुनेछ ।

सशस्त्र बललाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने हो भने खनाल स्वयंमबाट त्यसको सुरुवात गर्नुपर्छ । उनमाथि अवसरवादी भएको आरोप लाग्दैं आएको छ । रोचक त के भने यसअघि उनले एआइजीमा एक नम्बरमा बढुवा पाउनका तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारलाई रिझाउनका उनी निकट मानिने गुण्डा नाइके गणेश लामासँग पनि दोस्ती गरेको बताइन्छ । जो नेता पावरमा छन्, उनीहरुको घर–घर धाउने र सशस्त्रको सांगठनिक जीवनमा राजनीतिक आमन्त्रण निम्त्याउने प्रहरी अफिसरका रुपमा पनि उनको आलोचना हुने गरेको छ ।

खनालका लागि सबैभन्दा ठूलो चुनौतीको विषय हुनेछ, संघीय संरचनामा सशस्त्र प्रहरी बलको सांगठनिक संरचना । अहिले सीमा सुरक्षा, भिभिआईपी सुरक्षा, औधोगिक सुरक्षा र विभिन्न देशमा शान्ती मिसनमा सशस्त्र काम गर्दै आएको सशस्त्रको संघीयतामा केन्द्र मातहत रहने परिकल्पना भएपनि अहिलेसम्म स्पष्ट सांगठनिक संरचना तयार भइसकेको छैन् । यी यावत समस्याले जकडिएको सशस्त्र बललाई प्रभावकारी सुरक्षा निकायमा रुपान्तरित गर्नु र संघीय नेपालमा पाएको जिम्मेवारीलाई दृढतापुर्वक कार्यन्वयन गर्ने सुरक्षा बलमा स्थापित गर्नु चानचुने नेतृत्वले सम्भव हुने छैन् ।

संगठनबाहेक सशस्त्रको बढुवा, दैनिक कार्यसञ्चालन, खरिद पनि सदैव विवादमा पर्ने गरेको छ । सशस्त्रभित्रको अपारदर्शी सरुवा बढुवा, चर्को विवादमा पर्ने गरेको खरिद प्रक्रियामा विधी स्थापित गर्नु र संस्थागत रुपमा अगाडि बढाउन अत्यावश्यक भइसकेको छ । खरिदमा रहने गरेको उच्च प्रहरी अधिकारीहरुको आर्थिक लालसाको चक्रब्यूहलाई पनि चिर्नुपर्ने देखिन्छ ।

सशस्त्रसँग अहिले पनि मिसनमा एपीसीको समस्या छ । त्यो खरिद प्रक्रियामा गएपनि विवादरहित बन्न सकेको छैन् । यसबाहेक सशस्त्रको पोशाक आपूर्तिमा पनि ठूलो समस्या छ, जसका कारण अहिलेसम्म सशस्त्रले लजिष्ट्रि आपूर्तिलाई विवादरहित बनाउन सकेको छैन् । सशस्त्रमा चर्को विवादको विषय बन्ने गरेको खरिद प्रक्रियामा खनाल प्रशासन विभागमा रहँदा विवादमा तानिएका थिए । एपिसी खरिद प्रकरणबारे उनीमाथि अहिले पनि मानहानीको मुद्धा छ । त्यसबाट अगाडि बढेर सिंगो संगठनलाई पादरर्शितातिर डो¥याउनका लागि आफ्नो विगतको विवादास्पद छविलाई परिर्वतन गर्नुपर्ने दायित्व पनि खनालमाथि छ ।

दुर्गम सेवा पदक, दैविक प्रकोप पीडित उद्वार पदक, युएन सेवा पदक, परदेश सेवा पदक, सुप्रवल जनसेवाश्री तृतीय लगायत विभिन्न समयमा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पदक, पुरस्कार तथा प्रसंसापत्र प्राप्त गरेका खनालका अगाडि त्यो भन्दा उत्कृष्ठ काम गरेर संगठनमा थिती बसाल्ने सुअवसर प्राप्त भएको छ । उनले त्यसका लागि संगठन हित र मुलुकप्रतिको दायित्वलाई बढी महत्व दिनुपर्नेछ, न कि आफ्नो ब्यक्तिगत स्वार्थहरुलाई । त्यसकारण सशस्त्रको उज्यालो सांगठनिक छवि निर्माणको श्रेय लिने ठूलो अवसर आइजिपीको कुर्सीमा हालै विराजमान हुन पुगेका खनालका लागि छ ।

उनी संगठनको उज्यालो छवि निर्माण लागेर सफल सशस्त्र बलको महानिरिक्षकको रुपमा बाहिरिन्छ वा त्यसतर्फ कुनै ठूलो पहल नगरेर हलचोकबाट गुननाम विदा हुन्छन्, त्यो त बाँकी समयले नै बताउने छ । सही काम गरेमा ४ वर्ष लामो समय सशस्त्रको नेतृत्व गर्ने अवसर पाएका उनका लागि यो समय हिरो बन्ने महत्वपूर्ण अवसर समेत बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement