सशस्त्रका जवानको हत्याः ३ किलोमिटरसम्म लखेटेर पानीमा डुबाएर मारे


सिरहा – सिरहामा सशस्त्र प्रहरी बलका जवानको लखेटी–लखेटी हत्या गरेको खुलेको छ । सिरहा नगरपालिका १७ स्थित बोर्डर आउट पोष्ट (वीओपी)मा कार्यरत जवान मनोहर कुमार यादव गत असार १६ गते नहरमा मृत भेटिएका थिए ।

घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका ३ का २५ वर्षीय जयकेश कुमार यादव, २० वर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव रहेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनले जवान यादवलाई ३ किलोमिटर लखेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । जवान यादव एक विवाहमा गएको बेला सामान्य विवाद भएको घटनालाई लिएर चोर भन्दै लखेटेर पानीमा डुबाएर मारेको खुलेको छ ।

उनीहरुविरुद्ध सिरहा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको डीआईजी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement