सशस्त्रमा डिआईजी बढुवाको प्रक्रिया सुरु, रिक्त दुई पदमा ६ जनाले दिए आवेदन 


काठमाडौं– सशस्त्र प्रहरी बलमा डिआईजीको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्रमा रिक्त दुई पदमा ६ जना एसएसपीहरुले आवेदन दिएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले ७ दिनभित्र बढुवाको लागी आवश्यक पर्ने शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनको लागी आवश्यक पर्ने प्रमाणपत्र पेश गर्न सुचना प्रकाशित गरेको थियो । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सदस्य सचिव समेत रहेका एआईजी रामशरण पौडेलले मंगलवार ६ जनाको विवरण गृहमन्त्रालयले गठन गरेको सचिवालयमा बुझाएका छन् । बढुवाको लागी अघिल्लो ब्याचबाट एसएसपी हरिशचन्द्र अधिकारी र पछिल्लो ब्यांचमा एक नम्बरमा रहेका अभिकुमार खत्रीले फारम भरेका छन् । 

बढुवामा योग्य भएपनि तिन नम्वरमा रहेका एसएसपीहरु गणेश ठाडा मगर, दुर्गा भटराई र कमल गिरीले भने फारम बुझाएका छैनन् । डिआईजी बढुवाको लागी फारम भर्नेमा एसएसपीहरु शम्भु सुवेदी, राजेन्द्र शाक्य, राजेन्द्र अधिकारी र कुलबहादुर नेम्वांङ्ग रहेका छन् । तिमध्ये खत्री र सुवेदी २०७३ चैत्र १५ मा एसएसपीमा बढुवा भएका हुन् भने शाक्य र अधिकारी उनिहरुभन्दा चार महिना पछि एसएसपीमा बढुवा भएका हुन् ।

गृहमन्त्रालय स्रोतकाअनुसार डिआईजी बढुवाको लागी बिहिवारबाट प्रक्रिया सुरु हुनेछ । रिक्त दुई जना डिआईजी पदमा ६ जना दावेदार भएपनि मन्त्रालयले वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा प्रक्रिया अघि बढाउनेछ । 

तत्कालिन गृहसचिव प्रेमकुमार राईको पालामा समेत सशस्त्रमा डिआईजी बढुवा हुंदा वरियतालाई आधार बनाइएको थियो । वरियताको आधारमा सशस्त्रमा तत्कालिन एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य,बंशिराज दाहाल,हरिशंकर बुढाथोकी,किशोर प्रधान र राजेन्द्र बस्नेतको डिआईजीमा बढुवा भएको थियो । वरियतामा अघि भएपनि सिनियर व्यवस्थापन तालिम नभएपछि एसएपी अधिकारी बढुवा हुन्बाट वंचित भएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले पनि सुरक्षा निकायभित्रको बढुवा वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा गर्न निर्देशन दिएका छन् । नयां गृहसचिव महेश्वर न्यौपानेले पदबहालीलगत्तै नेपाल प्रहरीमा भएको एआईजीको बढुवा समेत वरियताका आधारमा भएको थियो । नेपाल प्रहरीका डिआईजीहरु ताराणी लम्शाल, शैलेश थापा र हरि पाल एआईजीमा बढुवा भएका थिए   

गृहमन्त्रालयले गरेको उक्त बढुवाको सबैतिर प्रशंसा भएको थियो । नेपाल प्रहरीमा बढुवामा चलखेल हुने र त्यसले बिवाद सिर्जना गर्ने भएपनि यसपटककको बढुवामा भने कुनै विवाद भएको थिएन् । 

डिआईजी बढुवाको लागी बोर्डको अध्यक्ष गृहसचिव हुने नियम छ । नयां गृहसचिव न्यौपानेले बढुवामा वरियतालाई नमिच्ने अडान लिएपछि प्रहरीको बढुवा विवादरहित भएको थियो । यता सशस्त्र प्रहरीमा पनि उनले बढुवा गर्दा वरियता नमिच्ने अडान लिएको स्रोत बताउंछ ।

सशस्त्र प्रहरीमा रिक्त दुई डिआईजीमा एक जनाको मात्र बढुवा गर्ने लविङ्ग भएपनि गृह नेतृत्वले भने त्यसमा असन्तुष्टि जनाएको र दुई वटै रिक्त डिआईजी पदमा बढुवा गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement