चालकलाई दोष दिएर सरकार उम्किन पाउँदैनः रास्वपा सचेतक धिताल

चालकलाई दोष दिएर सरकार उम्किन पाउँदैनः रास्वपा सचेतक धिताल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगलागी हुँदा चालक अर्जुन लामा दोङको मृत्यु भएको घटनालाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक क्रान्तिशिखा धितालले चालकलाई मात्रै दोष दिएर समस्याको समाधान खोज्न नहुने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै धितालले त्रिपुरेश्वरमै केही समयअघि गणेश नेपालीको मृत्यु भएको घटनालाई पछिल्लो घटनासँग जोडेर हेर्नुपर्ने बताइन् ।

यी पछिल्ला दुई घटनाले प्रहरीको कार्यशैली र सार्वजनिक यातायातका चालकको मनोसामाजिक अवस्थामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।

घटानालाई चालकको दोषका रुपमा मात्र औंल्याएर राज्य र यातायात व्यवसायी उम्किन नमिल्ने धितालले उल्लेख गरिन् ।
‘म आत्महत्या वा आत्मदाहलाई ग्लोरीफाई गर्ने पक्षमा छैन । तर त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाले गम्भीर संकेत गरिरहेका छन्,’ उनले भनिन्, ‘पहिलो हाम्रो पुलिसिङ गर्ने शैली कत्तिको मिलेको छ । दोस्रो हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भनेर हामी राज्य चलाउनेहरूले र स्वयं यातायात व्यवसायीहरूले कत्तिको ध्यान दिएका छौं ?’


धितालले प्रहरीबाट सार्वजनिक भएका सूचनामा चालकको विगतबारे विवादास्पद विवरण आए पनि आफू त्यसतर्फ जान नचाहेको बताइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनले अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने उल्लेख गरिन् ।


उनले सडकमा यात्रु तथा चालकसँग सुरक्षाकर्मी र ट्राफिक प्रहरीले गर्ने व्यवहारबारे पुनर्विचार गर्नुपर्ने बताइन् ।


‘बर्दी लगाएका राष्ट्रसेवक सुरक्षाकर्मी तथा ट्राफिकहरूप्रति उच्च सम्मानसहित मेरो सामान्य प्रश्न छ– हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनेर जे सिकाइएको छ, त्यसमा गम्भीर समस्या छ किरु त्यसमा घोत्लिएर एकपटक सोचौं,’ उनले भनिन्, ‘बदलिनुपर्ने कहाँनेर छ, के छ, बदलौं । नत्र यस्ता दुःखद घटनाको शृंखला नरोकिने भयो ।’


धितालले सार्वजनिक यातायातका चालकको मनोसामाजिक अवस्था, पारिश्रमिक र काम गर्ने वातावरणबारे समेत गम्भीर रूपमा सोच्नुपर्ने बताइन् । चालकको जिम्मेवारीसँग धेरै यात्रुको जीवन जोडिएको उल्लेख गर्दै उनले उनीहरूको आत्मसम्मान, पारिश्रमिक, खानपान तथा शारीरिक र मानसिक अवस्थाको समेत ख्याल गर्नुपर्ने बताइन् ।


‘न्यून तलब अनि कम आत्मसम्मानमा उनीहरूलाई हामीले छाडिदिएका कारण यस्तो भएको हो कि ? उनीहरू कहिलेकाहीँ त्यत्तिकै झोक्किने, रिसाउने गरिरहेका हुन्छन् । २४ सै घण्टा काम लगाउने, आराम गर्न नदिने, कति कमाएर ल्यायो भन्ने विषयलाई मात्र प्राथमिकता दिने कुरा संवेदनशील विषय हो,’ उनले भनिन् ।

त्रिपुरेश्वरमा भएका दुवै घटनाबाट राज्य, यातायात व्यवसायी, चालक तथा उनीहरूका परिवार र प्रहरी–ट्राफिक सबैले पाठ सिक्नुपर्ने धितालको भनाइ छ ।

उनले चालकलाई मात्र दोष दिएर घटनाको कारण खोज्न नसकिने बताउँदै प्रहरी तथा ट्राफिकको कार्यशैलीमा समेत पुनर्विचार आवश्यक रहेको बताइन् ।

‘खाली चालकलाई मात्र दोष थोपरेर समस्या समाधान होला भन्ने मलाई फिटिक्कै विश्वास लाग्दैन,’ उनले भनिन् ।


धितालले सरकार, राज्यका सम्बन्धित निकाय र यातायात व्यवसायीको ध्यानाकर्षण गराउँदै चालकको काम गर्ने अवस्था र मनोसामाजिक पक्षलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरिन् ।


यसअघि सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सार्वजनिक बसमा आगलागी हुँदा चालक अर्जुन लामा दोङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको थियो ।