सशस्त्रमा डिआईजी बढुवाको प्रक्रिया सुरु,यस्ता छन् प्रतिस्पर्धी


काठमाण्डु– सशस्त्र प्रहरीमा डिआईजीहरुको बढुवा प्रक्रिया सुरु भएको छ । हाल सशस्त्रमा तीन जना डिआईजीको पद रिक्त छ । सशस्त्र मुख्यालयले बुधवार डिआईजी बढुवाको लागी सुचना प्रकाशित गरेको हो ।

गत हप्ता मात्र सरुवा भएर प्रशासन विभागमा आएका एआईजी रामशरण पौडेलले डीआईजी बढुवाका लागि बुधबार सूचना जारी गर्दै तीन दिनभित्र एसएसपीहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनेका छन् । एआईजी पौडेल गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव छन् ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।

डिआईजीको बढुवाका लागी दौडमा रहेका एसएसपी हरु अधिकांश नेपाल प्रहरीमा नायव निरीक्षक (सई) मा सेवा प्रवेश गरेकाहरु छन् । उनिहरुपछि सशस्त्रमा आएका थिए ।

बढुवाका लागी एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का दौडमा छन् । उनिहरु तिनै जना २० पुस २०७५ मा एसएसपीमा बढुवा भएका थिए । धौबजी,न्यौपाने र खडकाले नेपाल प्रहरीमा हुंदा प्राविधिकका रुपमा सेवा प्रवेश गरेका थिए ।

धौबजी २५ असोज २०५२, न्यौपाने १ फागुुन २०५२ र खड्काले १ भदौ २०५० मा नेपाल प्रहरीको सईमा प्रवेश गरेका थिए ।

बढुवाका लागी एसएसपीहरु भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि प्रतिस्पर्धामा छन् ।

सशस्त्र मुख्यालयले डीआईजी बढुवालगत्तै डीएसपी सम्मको बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सशस्त्रमा लामो समय बढुवा प्रक्रिया अघि नबढाएको भन्दै महानिरीक्षक शैलेन्द्र खनालको आलोचना भइरहेको थियो । खासगरी इन्सपेक्टरदेखी डीएसपीमा बढुवा रोकिएको सशस्त्रमा लामो समय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement