सशस्त्रमा माघमा रिक्त भएको डिआईजी बढुवा प्रक्रिया सुरु, यी हुन् प्रतिस्पर्धी उम्मेदवार


काठमाडौं– शसस्त्र प्रहरी बलको मुख्यालयले एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले करिव ६ महिनादेखी रोकेको बढुवा सुचारु भएको हो । बढुवाका लागी उम्मेदवारहरुले पटक–पटक गरेको आग्रह आईजिपी खनालले लत्याउंदै आएका थिए ।

सशस्त्र प्रहरी मुख्यालयले शुक्रवार बढुवाका लागी सुचना प्रकाशित गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाद्धारा हस्ताक्षरित सूचनामा एसएसपीहरुलाई आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणहरुको प्रतिलिपिहरु संलग्न गरी सूचना प्रकाशन भएको १० दिनभित्र बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको छ ।

शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । हाल सशस्त्रमा ७ वटा डिआइजीको पद रिक्त रहेको छ । बढुवाको सुचीमा वरियताका आधारमा प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायण दत्त पौडेल, गोविन्द क्षेत्री, सीपी गौतम, हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत छन् ।

यी मध्ये सबैको एसएसपीमा बढुवा भएको मिति भने फरक–फरक छ । एसएसपीहरु भक्त, राणा, श्रेष्ठ, रामप्रकाश, अर्याल र पौडेल २०७० साल जेठ दुई गते बढुवा भएका थिए भने गौतम र क्षेत्री २०७० साल साउन २ गते एसएसपीमा बढुवा भएका थिए । त्यसैगरी एसएसपीहरु बुढाथोकी, ब्रहमाचार्य र बस्नेत २०७१ साल पुष २१ गते बढुवा भएका थिए ।

गृहमन्त्रालयले रोकिएको सरुवा–बढुवा अघि बढाउन निर्देशन दिएपनि संगठन प्रमुख खनालले बढुवाको प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएका थिए । सशस्त्रमा गत माघदेखी डिआईजीको दरबन्दी रिक्त रहेपनि बढुवा प्रक्रिया भने अघि बढेको थिएन् । खनालमाथी आफु निकटका अधिकारीहरुलाई बढुवामा अघि ल्याउन प्रक्रिया अवरुद्ध पारेको आरोप छ ।

बढुवाको लागी उम्मेदवार रहेका एसएसपी प्रजा भक्त प्राविधिक इन्जिनियर हुन् भने उनको कार्यसम्पादनसन्तोषजनक छैन् । सशस्त्रमा प्राविधिक अधिकृत नै संगठनको प्रमुख भइसकेकाले उनि पनि बढुवाको सूचीमा छन् । यसैगरि संजय राणा आइए पास मात्र छन् । शसस्त्रको नियमावली अनुसार डिआइजी पदको लागि बिए पास अनिवार्य चाहिन्छ । यस हिसावले उनी डिआइजीको लागि योग्य उम्मेदवार होइनन् ।
तर, पनि उनी प्रतिस्पर्धाको मैदानमा छन् । राणा सेनाबाट सशस्त्रमा आएका सिनियर अधिकारी हुन् । राणा अहिले एआईजी रहेका सशस्त्रका अधिकारीभन्दा पहिले नै सेवा प्रवेश गरेका थिए ।

राणाले आफु सशस्त्रमा आउंदा रहेको नियमावलीअनुसार नै आफ्नो बढुवा हुनुपर्ने माग राख्दै आएका छन् । हालका महानिरीक्षक खनालले समेत आईजिपीमा नियुक्ती भएपछिको सम्बोधनमा एसएसपी राणाको ब्याचमाथी माथी अन्याय भएको भन्दै आफुले न्याय दिने बताएका थिए ।

एसएसपी भरत श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् । उनले पनि आइए मात्र पास गरेका छन् । यस हिसावले उनी पनि योग्य उम्मेदवार होइनन् । एसएसपीहरु गोविन्द क्षेत्री, भरत श्रेष्ठ र सञ्जय राणा तीनै जना सेनाको २९ बेसिकका अधिकृत हुन । उनिहरुले आफुमाथी अन्याय भएको भन्दै बढुवा गरिदिनुपर्ने बताएपनि त्यसको संगठनको नेतृत्वले वेवास्ता गर्दै आएको छ ।

बढुवाको सूचीमा रहेका नारायणदत्त भने शसस्त्रमा राम्रो छवि भएका अधिकारी मानिदैनन् । नारायण पुर्वको बराह बाहिनीमा हुंदा चेन अफ कमाण्ड बे्रेक गरेको आरोपमा कार्वाहीमा परेका थिए । पौडेलमाथी रेकर्डमा जनाउने गरी नै कार्वाही भएको थियो । उनलाई ककनीस्थित शसस्त्रको तालिम केन्द्रमा प्रमुख हुंदा विदा छाडेर रासनमा अनियमितता गरेको अभियोग समेत लागेको थियो । एसएपी पौडेलको हालका आईजिपी खनालसंग निकट सम्बन्ध छ ।

यिनै पौडेललाई डिआईजी बढुवामा अघि ल्याउन आइजी खनाल लागेका छन् । उनले बढुवामा सजिलो होस भनेर नै तक्माका लागी सिफारीस गरेपनि तक्मा सिफारीस समितिले उक्त सिफारीस खारेज गरेको थियो । पौडेलको ब्याचमा एक नम्बरमा रहेका राजु अर्याललाई दुई नम्बरमा पुर्याएर पौडेललाई एक नम्बरमा बढुवा गर्न खोजिएको स्रोतको दाबी छ । अर्याल हाल सिंहदरबारस्थित सुरक्षा परिषद सचिवालयमा कार्यरत छन् ।

उनि सशस्त्रमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । अर्याल र पौडेल दुवै आफ्नो व्याचमा वरियतामा क्रमश एक र दुई नम्बरमा रहेका छन् । हालको डिआईजी बढुवा भावी महानिरीक्षकसंग समेत जोडिएकाले यसमा वरियतामा कस्लाई अघि ल्याउने भन्ने खेल जोडिएको छ ।
सशस्त्रमा डिआईजी बढुवाको लागी गृहसचिव प्रेम राईको अध्यक्षतामा तीन सदस्यिय समिति बनेको छ । जसमा सदस्य आईजिपी खनाल छन् भने प्रशासन हेर्ने एआईजी नारायणबावु थापा सदस्य सचिव रहेका छन् ।

सशस्त्रको नियमावलीअनुसार डिआईजीको बढुवाको लागी रहेको १०० नम्बरमध्ये कार्य सम्पादन ४०,जेष्ठता २०\२०,भौगलिक क्षेत्रमा काम गरेमापत ८\८,शैक्षिक योग्यता वापत ७\७, तालीम वापत १३\१३,चुनौतीपुर्ण र विशेष जिम्मेवारी वाफत ५, विभुषण २ नम्बर र बढुवा समितिले दिने वापत ५ नम्बर रहेको छ ।

खनालले एसएपी पौडेललाई एक नम्बर ल्याउन विभुषण्का लागी सिफारीस गरेपनि उनको निर्णय समितिले नसियद पाएका अधिकृतलाई तक्मा दिन नमिल्ने भन्दै खारेज गरेको थियो । त्यसपछि पनि खनालले डिआईजीको बढुवा अघि बढाउन खोजेनन् । त्यसको कारण थियो चुनौतीपुर्ण र विशेष जिम्मेवारी वाफत दिने ५ नम्बर । यो नम्बर महानिरीक्षकले नै दिने हुंदा पनि उनले त्यसमा ढिलाई गरेका हुन् ।

सशस्त्रले गृहमन्त्रालयमा चुनौतीपुर्णवाफतको नम्बर असोज २३ गतेभित्र पठाइसक्नुपर्ने हुन्छ । खनालले उक्त नम्बर गृहमन्त्रालय मन्त्रालय पठाएको तीन दिनपछि बढुवा प्रक्रिया अघि बढाउनुले पनि उनको नियत पुष्टी भएको सशस्त्रकै एक डिआईजीले काठमाडौंपार्टीलाई बताए ।
‘६ महिनासम्म डिआईजी पद रिक्त हुंदा हुंदै रोकेर राख्नुभयो, तक्मा र चुनौतीपुर्णवाफतको नम्बर दिएपछि बढुवा गर्नुले उहांको नियत स्पष्ट भएको छ, प्रहरी महानिरीक्षकले नियमभन्दा व्यक्तिको पछाडी लाग्नु दुखद कुरा हो ।’ ती डिआईजीले भने ।

गृहमन्त्री रामबहादुर थापाले पदमा बहाली भएपछि सार्वजनिक गरेको मार्गचित्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रोक्किएको बढुवा एक महिनाभित्र अघि बढाउने प्रतिवद्धता जनाएपनि त्यो व्यवहारमा लागु भने हुन् सकेन् । सशस्त्रमा सात महिनादेखी यति ठुलो संख्यामा उच्च अधिकृतको दरबन्दी खाली हुंदा समेत मन्त्री थापाको ध्यान नगएको भन्दै केही उच्च अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानआकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement