सशस्त्रमा ७ डिआईजी पद रिक्त,एक दर्जन एसएसपी प्रतिस्पर्धामा


काठमाण्डु- सशस्त्र प्रहरीमा सात जना डिआईजीको बढुवाको लागी दौड सुरु भएको छ । यही मंसिर २८ देखी सशस्त्रमा ७ जना डिआईजीको दरबन्दी रिक्त हुन लागेसंगै बढुवाका आकांक्षीहरु दौडमा लागेका हुन् । यसअघि सशस्त्रमा एक जना डिआईजीको दरबन्दी लामो समयदेखी रिक्त भएपनि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढुवा प्रक्रिया नै रोकेर राखेको स्रोतको दावी छ । खनाल आफै एकल एआईजीमा बढुवा भएर सशस्त्रको प्रहरी महानिरीक्षक बनेका अधिकारी हुन् ।

गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलगायतले बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएपनि खनालले रिक्त डिआईजीमा एकल बढुवा नगर्ने अडान लिंदै आएका थिए । सुरक्षा निकायमा दरबन्दी लामो समयदेखी रिक्त राख्दा अधिकृतहरुको वृतिविकासमा असर पर्ने भएपनि सशस्त्रमा भने करिव एक वर्षदेखी डिआईजीको दरबन्दी खाली नै राख्ने काम भएको थियो ।

सशस्त्रमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्रमा आएका र हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाउने भएका हुन् । उनिहरुको रिक्त दरबन्दीमा सशस्त्रमा डिआईजीको बढुवाका लागी अहिलेदेखी नै लविङ सुरु भएको हो । रिक्त सात जना डिआईजीको लागी एक दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

सशस्त्रमा डिआईजी बढुवा गर्दा सुचना नै प्रकाशित गर्ने नियम छ । गृहमन्त्रालयले यसपटक दरबन्दी रिक्त भएलगत्तै बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।

बढुवाका लागी कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ । सुरक्षा निकायमा समितिले दिने नम्बरमा नै बढी चलखेल हुंदै आएको छ । आफु निकटकालाई अगाडी ल्याउन यो प्रावधानलाई टेक्ने काम हुने गरेको सशस्त्रकै अधिकारीहरु बताउंछन् ।

बढुवाका लागी एसएसपी अभिकुमार खत्री पहिलो नम्बरमा छन् । उनी एसएसपी भएपनि वरियतामा पहिलो नम्बरमै भएकाले अहिले ६ नम्बर बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारी सम्हालिरहेका छन् । लामो समयदेखी रिक्त एक डिआईजीमा खत्रीको बढुवा हुने चर्चा चलेपनि उनको बढुवा भने रोकिएको थियो । सशस्त्रमा प्रदेश प्रमुख भएर पठाउने डिआईजीको दरबन्दी नहुंदा वरियताको आधारमा उनलाई कर्णाली प्रदेशमा पठाइएको हो । उनी सशस्त्रमा निमित्त बाहिनीपतिको जिम्मेवारी सम्हालिरहेका एक मात्र एसएसपी हुन् ।

त्यसपछि वरियताकै आधारमा शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन् । सुवेदी खत्री,ठाडामगर, भट्टराई र गिरीभन्दा अघिल्लो ब्याचका भएपनि एसएसपीमा बढुवा हुंदा दोस्रो नम्बरमा बढुवा भएका थिए । एसएसपी ठाडामगर हाल सशस्त्रको इन्टेलिजेन्स विभागको प्रमुख छन् । एसएसपी भट्टराई सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र गिरी बराह बाहिनीमा कार्यरत छन् ।

उनीहरू पांचै जना १७ चैत २०७३ मा एसएसपीमा एकै दिन बढुवा भएका थिए । त्यसपछि उनिहरुकै ब्याचका बैकल्पिक रहेका एसएसपी कुलबहादुर नेम्वाङ त्यसको केही समयपछि एसएसपीमा बढुवा भएका थिए । त्यसपछि एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक बढुवाको लागी प्रतिस्पर्धामा छन् ।

रिक्त सात डिआईजीमा खत्री, सुवेदी, ठाडामगर, भट्टराई, गिरी र नेम्वाङ डीआईजी हुने लगभग निश्चित छ । तर अर्को एक पदका लागी भने आधा दर्जन एसएसपीहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement