सशस्त्र प्रहरीले यसरी मनायो २२ औँ स्थापना दिवस (फोटाेफिचर)


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरी बल, नेपालले आफुलाई प्राप्त सवै प्रकारका भूमिकालाई उच्च साहास, इमान्दारी एवं व्यावसायीकताका साथ सम्पादन गरेको बताएका छन् ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा सोमबार आयोजित २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री  प्रचण्डले सशस्त्र प्रहरी बल, नेपालले आफुलाई प्राप्त सवै प्रकारका भूमिकालाई उच्च साहास, इमान्दारी एवं व्यावसायीकताका साथ सम्पादन गरेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राजश्व संकलनमा पुर्‍याएकाे सहयोग र महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा आन्तरिक सुरक्षा,कानून कार्यान्वयन,देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने तथा जनताको जीउधनको सुरक्षामा पुर्‍याएकाे योगदानको उच्च प्रशंसा समेत गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । समारोहमा प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गरे ।

प्रधानमन्त्री दाहालले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे प्रधानमन्त्री प्रचण्डले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रकाशित सचित्र पुस्तकARMED POLICE FORCE, NEPAL को विमोचन समेत गरे ।

प्रधानमन्त्री दाहालले विशेष समारोहमा सम्बोधनको क्रममा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दैँ कर्तव्य पालनाको सिलसिलामा घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले २०७२ सालको विनाशकारी भूकम्प लगायत विभिन्न समयमा भएका प्राकृतिक तथा मानवसृजित विपत्तीमा आफ्नो ज्यानको प्रवाह नगरी वीरताका साथ खटिएर जनताको जीवन रक्षाको लागि कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दैँ सीमित साधनश्रोत र चुनौतीको विचमा पनि सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा राष्ट्रसेवकहरुको कृयाशिलता र सकारात्मक परिणामको मुक्तकण्ठले प्रशंसा गरे ।

उनले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका सामान, सवारी साधन र भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि नेपाल सरकारको तर्फबाट यथासम्भव पहल हुने बताउँदै संवैधानिक सर्वोच्चता र कानूनी शासनको मान्यतालाई आत्मसाथ गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा, जनताको जीउधनको सुरक्षा, समाजिक सद्भावको विकास र समय परिस्थिति अनुसार नेपाल सरकारबाट प्रदान गरिएको आदेश तथा निर्देशनहरुलाई पालन गरी अनुशासित, नैतिकवान, व्यावसायीक एवं कर्तव्यनिष्ठ भई सवै निकायहरुसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालन हुन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले त्यसअवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निवृत्त जीवन सुखमय बनोस, अनुकुल र व्यावसायीक क्षमतालाई आगामी दिनमा पनि प्रयोग गरी समृद्ध नेपाल निर्माणको अभियानमा टेवा पुर्‍याउन सकियोस् भन्ने शुभकामना व्यक्त गरे ।

त्यस्तै उनले देश र जनताको सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालमा आवद्ध भई कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गरेका प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत दिवंगत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गरे ।

उनले सशस्त्र प्रहरी बलले स्थापनाको २२औं वार्षिकोत्सव मनाई रहँदा विभिन्न कालखण्ड पार गर्दै आईरहेको स्मरण गर्नुहुँदै स्थापनाकालका सुरुवाती वर्षहरुमा श्रोतसाधन र जनशक्तिको अभावका कारण कार्यक्षमतामा कमि देखिएको भएपनि क्षम्य भएको बताउँदै संगठन अहिले पूर्ण बयश्क अवस्थामा प्रवेश गरिसकेकोले नयाँ संगठन भनेर कुनै हालतमा क्षमा पाउने अवस्था छैन तसर्थ सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीहरुले आफ्नो उर्जा र क्षमताको अधिकतम उपयोग गरी संगठनको बयश्क समयलाई जीवन्तता दिनुहुने छ र यसमा गृहमन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त विशेष समारोहमा धन्यवाद ज्ञापन गर्दैँ  देश र देशवासीको हितको लागि नेपाल सरकारले लिएको सुशासन, समृद्धि र आर्थिक बृद्धिको लक्ष्य प्राप्तीको लागि सशस्त्र प्रहरी बल नेपालाई निर्दिष्ट कार्यादेशहरु ईमान्दारिताकासाथ पालना गर्दै आईरहेको बताउँदै नेपाली जनताको सेवा, सुरक्षामा सेतीको खोचदेखि गोक्यो हिमतालको बीच भागसम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल भुकम्पको भग्नाअवशेषसम्म पुग्नुको साथै बाढि, पहिरो, र आगलागी नियन्त्रण लगायत आपत् विपद्का परेका नागरिकहरुको उद्वार कार्यमा सकृयताकासाथ खटिई आईरहेको बताए ।

उनले हालै सम्पन्न भएको संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले खेलेको अहम भूमिकाको प्रशंसा गर्नुहुँदै तराईको गर्मीदेखि हिमालको कठ्यांग्रीदो जाडोसम्म आफ्नो कर्तव्य पालनामा अविचलित नभई खटिई रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गरे।

महानिरीक्षक अर्यालले संगठन सुधारका कार्यहरुको लागि संस्थागत, संरचनागत तथा नीतिगत सुधारका कार्यहरु तर्जुमा गरी क्रमश कार्यान्वयमा लगिएको हुँदा उक्त नीति तथा कार्यहरु कार्यान्वयनका लागि नेपाल सरकार तथा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुको आवश्यक निर्देशन र सहयोगको अपेक्षा गरिएको बताए ।

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षालाई थप प्रभाकारी बनाउन हालसम्म २ सय २८ वटा बिओपीहरु स्थापना गरिएको र सीमा सुरक्षालाई थप व्यवस्थित बनाउन कम्तीमा ५ सय वटा बिओपी स्थापनाको लागि थप जनशक्ति र भौतिक संरचनाको अलावा डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement