सशस्त्र प्रहरीले यसरी मनायो १८ औ स्थापना दिवस (फोटा फिचर) 


काठमाडौं – प्रधानमन्त्री के.पी. शर्मा ओली ‘अठारौं सशस्त्र प्रहरी दिवस २०७५’ विशेष समारोहमा सरिक हुनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ १५ गते आयोजित सशस्त्र प्रहरी दिवस विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।   

प्रधानमन्त्री ओलीले सोही विशेष समारोहमा संगठनमा लामो समय सेवा गरी स–सम्मान अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा नै प्रदर्शन गरेको देश भक्ति, कर्तव्य परायणता र क्षमताले संगठनको स्थापनाको औचित्य पुष्टि गरिसकेको चर्चा गर्नुहुँदै संगठनलाई आजको यस अवस्थामा ल्याईपु¥याउन सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको असाधारण मेहनत, परिश्रम र बीरता प्रदर्शनको उल्लेखनिय भूमिका रहेको बताउनुभयो । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यअवसरमा संगठनमा आवद्ध रहेर देश सेवा गर्दागर्दै  विभिन्न परिस्थितीमा बीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत सबै दिवंगत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै कर्तव्यपथमा रहदा घाइते तथा अंगभंग भएका सुरक्षाकर्मीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । 

उहाँले सशस्त्र प्रहरी बल नेपाल आम नेपाली जनताको भरोसायुक्त संगठनको रुपमा आफुलाई उभ्याउन सफल रहेको चर्चा गर्नुहुँदै यस संगठनले आजको अवस्थामा राष्ट्रिय सुरक्षाको साथै संयुक्त राष्ट्र संघीय शान्ति सुरक्षामा समेत खटिई उत्कृष्ट कार्य गर्न सफल रहेको बताउनुभयो । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त विशेष समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सदैव उच्च सतर्कताकासाथ जिम्मेवारी निर्वाह एवं उत्तरदायित्व वहन गरी प्रभावकारी ढंगले सुरक्षा व्यवस्था मिलाउन उत्प्रेरीत रहेको तथा संगठनले कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले देश र जनतालाई शीरमा राखेर तन, मन र वचनकासाथ प्रतिवद्ध रही कार्यक्षेत्रमा परिचालित रहनु पर्ने बताउनुहुँदै यसबाट सुरक्षा क्षेत्रमा चालिएका प्रयासहरु सार्थक हुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस
Advertisement