अवकास पाउनु ३ दिन अघि सशस्त्र प्रमुख खनालले गरे बढुवामा मनपरी


काठमाण्डु– सशस्त्र प्रहरीमा लेखातर्फका १० जना सशस्त्र प्रहरी निरीक्षक डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले विहिवार सूचना प्रकाशित गर्दै १० जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएको सार्वजनिक गरेका हुन् । डिआईजी पौडेल बढुवा समितिको सदस्य सचिव हुन् ।

सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले अवकास पाउनु चार दिनअघि मात्र बढुवा प्रक्रिया अघि बढाएका हुन् । खनालले लेखामा एक वर्षदेखी डीएसपी रिक्त हुंदा समेत बढुवा प्रक्रिया रोकेर राखेका थिए । सशस्त्र प्रहरीको सिसम ४ का इन्सपेक्टर राजकुमार ढकाललाई बढुवा नदिने खनालको अडान थियो । तर, वरियतामा उनि लेखा समुहमा सबैभन्दा अगाडी थिए । खनालले सशस्त्रमा मन नपरेका अधिकृतहरुको वृति विकास रोक्ने काम गरेको भन्दै उनको आलोचना हुंदै आएको छ ।

उनको बढुवाको लागि चैत्र २१ गते नै सुचना सार्वजनिक गर्दै नाम सिफारिस भइसकेको छ । बिहिवार सिफारीस भएका नाममा भने सशस्त्रमा खनालले वरियता मिचेर बढुवा दिएका छन् । उनले केन्द्रीय लेखामा रहेका गणेश मल्ललाई एक नम्बरमा बढुवा सिफारिस गरेका छन् । मल्ल तिनै अधिकारी हुन् जो आर्थिक रुपमा बदनाम छन् । उनिविरुद्ध अकुत सम्पति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन समेत गरिरहेको छ ।

मल्लले एक नम्बरमा बढुवा हुनका लागि सबैखालको चलखेल गरेको स्रोत बताउंछ । उनि खनाल सशस्त्र प्रमुख भएसंगै केन्द्रीय लेखामै छन् । मल्लले सशस्त्र प्रहरीमा बजेट मात्र नभई सरुवा बढुवामा समेत खनालको विचौलियाको काम गर्दै आएका छन् ।

खनालले समेत बढुवा र सरुवामा उनैलाई अघि सारेर आर्थिक लाभ लिएको गुनासो छ । खनालविरुद्ध समेत अख्तियारले छानविन गरिरहेको छ । तर, उनि अवकासपछि अख्तियारमा आयुक्त भएर जाने लविङमा छन् ।

डीएसपी बढुवामा मल्ल मात्र होईन महेन्द्र हमाल र तारा बहादुर केसीलाई समेत सिंगो ब्याचलाई नै मिचेर अघि ल्याइएको छ । जसले गर्दा बढुवामा असन्तुष्टि छाएको हो ।

बढुवाका लागि रमेश थापा,खुस बहादुर श्रेष्ठ,उर्मिला थापा,शोभाकान्त ढकाल,उमाकान्त जोशी र सुदनराज गिरीको नाम सिफारिस भएको छ । उनिहरुमध्ये सीसम ६ की थापा ७ नम्बरमा र गिरीलाई अन्तिममा पुर्याइएको छ । जवकी उनिहरुभन्दा पछी रहेका सिसम ७ का केसीलाई व्याच नै मिचेर ५ नम्बरमा बढुवा सिफारिस गरिएको छ । हमाल र मल्ल त झन वरियतामा निकै पछाडी थिए । बढुवामा प्रमोद थापालगायत छुटेका छन् ।

यता इन्फेन्ट्रीतिरको इन्सपेक्टरबाट डीएसपी बढुवा भने रोकिएको छ । उनिहरुको सेवा प्रवेश गरेको १७ वर्षभन्दा बढी हुंदा समेत सशस्त्रमा एक तहको बढुवा समेत भएको छैन । अहिले ५७ जना भन्दा बढीको दरबन्दी रिक्त भएपनि गृहमन्त्रालय र आइजिपी खनालको स्वार्थ बाझिंदा बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन् । उनिहरुले बढुवा नभएको भन्दै गृहमन्त्रालय समेत पुगेर गुनासो गरिसकेका छन् ।

महानिरीक्षक खनाल यही चैत्र २८ मा बिदा हुंदैछन् । उनको आइतबार सशस्त्र मुख्यालयमा बिदाई कार्यक्रम समेत तय भइसकेको छ । खनालपछी करिव २० दिनको लागि एआईजी पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षक बनाउने तयारी छ । वरियतामा केसी अघि छन् तर, दोस्रो नम्बरमा रहेका एआईजी रामशरण पौडेल पनि आइजीपीको दौडमा छन् ।

खनालको अवकासपछी सशस्त्रमा एआईजीको दरबन्दी रिक्त हुनेछ । त्यसमा जो डिआईजी बढुवा भयो त्यो नै सशस्त्रको भावी महानिरिक्षक बन्ने लगभग निश्चित छ । वरियतामा अघि रहेका डिआईजीहरु राजु अर्याल,नारायणदत्त पौडेल र सिपी गौतममध्ये एक जना सशस्त्रको प्रमुख बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement