जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न सकिएन :सशस्त्र प्रहरी महानिरीक्षक


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी गराएका छन् ।

सोमबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरेका छन्।

महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भईरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे। सशस्त्र बल, नेपालले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया पनि सुरु गरिएको जानकारी दिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्मचारीहरुको अभाव पूर्ति गर्दै लैजाने योजना अन्तरगत विभिन्न पदका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको पनि बताए। उनले कर्मचारी भर्ना प्रक्रियालाई थप व्यवस्थित बनाउने काम पनि आफ्नो एक वर्षे कार्यकालमा भएको दावी गरे।

सशस्त्र प्रहरी बलको सूचनामा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ नयाँ मोबाइल एप्स पनि सोमबारबाटै सञ्चालनमा ल्याइएको छ। मातहतका कर्मचारी र सशस्त्र प्रहरी बलबारे सर्वसाधारणलाई जानकारी लिन सहज होस् भन्ने उद्देश्यका साथ सो एप्स सञ्चालनमा ल्याइएको पनि महानिरीक्षक खनालले बताए।

महानिरीक्षक खनालले चालू आर्थिक वर्ष भित्र सो एप्स सशस्त्र प्रहरी बलको सबै युनिटमा सञ्चालनमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे। सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय कार्यालय र देशभरका सबै युनिटहरुमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य लिइएको पनि बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement