सशस्त्रमा मनपरी : डिएसपीलाई एसपीमा बढुवा गर्न तालिम नसक्किदै प्रमाणपत्र दिईयो 


काठमाडौं– शसस्त्र प्रहरी बलमा स्टाफ कलेजको तालिम नसक्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको खुलासा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफु निकट केही डिएसपीहरुलाई एसपीमा बढुवा गर्न तालिम अवधी अघि नै प्रमाणपत्र दिएको खुलासा भएको हो । 

सशस्त्रमा गत असोज ४ गतेबाट संचालन भएको उक्त कोर्षमा १९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी थिए । उनिहरुको कोर्स फागुनको तेस्रो हप्ता सकिदै थियो । कोर्सको समयाअवधी पुरा नहुंदै उनिहरुलाई प्रमाणपत्र दिनुलाई भने आश्र्चयका साथ हेरिएको छ । 

सशस्त्र मुख्यालयले बुधवार मात्र एसपी र एसएसपी बढुवाका लागी सुचना प्रकाशित गरेको भोलीपल्ट नै स्टाफ कलेजको प्रमाणपत्र वितरण गरिएको हो । सशस्त्र स्रोतले दिएको जानकारीअनुसार आईजिपी खनालले आफु निकट डिएसपी राजेश उप्रेती,राजु गौतम,टोप खनाल राजकुमार लामिछाने र दिपक थापालगायतलाई बढुवा गर्न प्रमाणपत्र वितरण गरेका हुन् । 

सशस्त्रमा बढुवाका लागी स्टाफ कलेज,सिनियर म्यानेजमेण्ट,वा  गणपति तालिममध्ये कुनै दुई वटा तालिम गर्नुपर्ने नियम छ । बढुवाका लागी प्रतिस्पर्धामा रहेका केही उम्मेदवारहरुको स्टाफ कलेज नभएपछि उनले तालिम अवधी नसकिदै प्रमाणपत्र वितरण गरेका हुन । 

सशस्त्र प्रहरी बलको सुचना शाखाले तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न भएको जनाएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रमाणपत्र वितरण कार्यक्रममा ‘प्रोफेशनल स्टडिज’ तर्फको अध्ययन पुरा गरेका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।  

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा संगठनमा अत्यन्त ठूलो महत्व राख्ने कमाण्ड तथा स्टाफ कोर्षको सो कोर्ष पूरा गर्ने प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई समेत दिएका थिए । 

उक्त कोर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती, नीति निर्माण तथा योजना, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, विपद व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, मानवअधिकार तथा मानवीय कानुन, संयुक्त राष्ट्रसंघीय सुरक्षा कारवाही आदि विषयमा प्रशिक्षण दिइएको कार्यक्रममा जानकारी गराइएको थियो । 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षहरु नारायणबावु थापा र रामशरण पौडेल तथा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement