आईजिपी अर्यालको सक्रियता : मालिमा शान्ति स्थापनार्थ सशस्त्रको एफपियू खटाउने तयारी


काठमाण्डु – सशस्त्र प्रहरीको टोली मालीमा शान्ति स्थापनार्थ खटिने भएको छ । शान्ति मिसनमा प्रहरी र सशस्त्रको फौंज घटिरहेको बेला सशस्त्रले अफ्रिकी देश मालीमा फर्म्ड पुलिस युनिट (एफपियू) खटाउने भएको हो । यसअघि सशस्त्रको मिसन लाइवेरिया भएपनि बन्द भएको ८ वर्ष भइसकेको छ । हाल सशस्त्रको एउटा मात्र एफपियू साउथ सुडानमा तैनाथ छ । त्यो पनि एक दुई वर्षभित्र फर्काउने संकेत राष्ट्रसंघले दिइसकेको छ ।

मालीमा सेनाको इन्जिनियरिङ बटालियन समेत तैनाथ छ । संयुक्त राष्ट्रसंघले सशस्त्र प्रहरीलाई मालीमा फौंज खटाउनको लागि तयार गर्न पत्र पठाइसकेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नो नियुक्ति भएदेखि नै यूएन मिसनमा सशस्त्र प्रहरीको सहभागिता बढाउन लविङ सुरु गरेका थिए । उनले त्यसका लागि राष्ट्रसंघका उच्च अधिकारीसंग औपचारिक र अनौपचारिक तहबाट संवाद अघि बढाएका थिए ।

सुरक्षा निकायमा शान्ति मिसनमा सहभागिताका कारण जागिरको आकर्षण बढ्ने गरेको छ । तर,पछिल्लो समय सशस्त्र र प्रहरीमा सहभागिता कम भएकै कारण जागिरको आकर्षण घटेको अधिकारीहरु बताउंछन् ।

सशस्त्रको एफपियू मालीको किदाल क्षेत्रमा खटाउने तयारी छ । २०२३ को जनवरीमा नै फौंज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको छ । यो क्षेत्र सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले माली मिसनमा एक सय ४० जनाको एफपियू खटाउने तयारी भएको भन्दै त्यसका लागि तयारी भइरहेको बताए । उनले यूएन मिसनमा सशस्त्रको धेरै भन्दा धेरै सहभागिताको लागि आफुले प्रयास गरिरहेको जानकारी दिए ।

हाल युएनमा फौंजको योगदान पुर्याउने हिसावले नेपाल दोस्रो स्थानमा छ । तर, नेपाली सेनाबाट मात्र ठुलो संख्यामा फौंज परिचालित भएपनि सशस्त्र र प्रहरीको सहभागिता भने न्यून छ ।

सशस्त्रमा मिसनमा पठाउनका लागि आवश्यक पर्ने बन्दोबस्तीको सामान, एपीसी र एमपिभी खरिदमा विवाद हुने गरेको छ । यसपटक सशस्त्रले जी टू जी वा सेनावाट सिधै खरिद गरेर आवश्यक सामान खरिद गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसका लागि सम्बन्धित निकायलाई तयारी थाल्न निर्देशन दिइसकेका छन् । तर, यसको खरिदमा हुने अस्वस्थ प्रतिस्पर्धा र सरकारको प्राथमिकता कम परेका कारण समयमै काम सम्पन्न हुनेमा उच्च अधिकारीको चिन्ता छ ।

सशस्त्र प्रहरीको रेक्की टोली सेप्टेम्बरमा माली जाने तयारीमा छ त्यसपछि राष्ट्रसंघको टोली नेपाल आउनेछ । माली मिसनको तयारीको लागि सशस्त्रमा विभिन्न ९ वटा समितिहरु बनेका छन् । ती समितिले मिसनमा जाने टिम र आवश्यक सामाग्री खरिदको लागि तयारी गरिरहेको छ ।

सशस्त्रसंग अहिले ६ वटा एपिसी छ भने थप खरिदका लागि तयारी गरिरहेको छ । उसले २ वटा एमपीभी र एम्बुलेन्स समेत भएको थप दुई वटा एमपीभी खरिदको तयारी गरेको स्रोतको दावी छ । यसअघि एपीसी खरिदमा विवाद भएपछि उसले तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको पालामा सेनाबाट एपिसी खरिद गरेको थियो ।

‘हामीले सेनाबाट लिने वा जिटुजी गर्नेबारे छलफल गरिरहेका छौं यसअघि पनि एपिसी खरिदमा विवाद भएका कारण सामान आउन सकेन । पछि हामिले सेनाबाट खरिद गर्नपर्ने भयो । अहिले जनवरीमा नै मिसन पठाउनुपर्ने भएकाले हामीले यो प्रक्रियामा जान खोजेका हौं ।’ सशस्त्रका एक अधिकारीले भने ।

सशस्त्रको कल्याणकारी कोषले ३० करोडमा किनेका सामान अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन् । ठेक्का प्रक्रियामार्फत अघि बढाइएको एपिसी खरिदको मुद्दा समेत अहिलेसम्म सर्वोच्चमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement