सीमामा सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास,बाढीमा ज्यान जोगाउने कसरी ?


कञ्चनपुर – भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ ।

वर्षातका बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य बिओपीमा बस्नका लागि टेन्ट र कच्ची संरचना मात्र रहेका छन् ।

अधिकांश बिओपी बस्नलायक नभएको बताइएको छ । वर्षातका बेला टेन्ट र छाप्रामा बस्नुपर्दा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ । टेन्ट र छाप्रा चुहिनेसँगै डुबानमा समेत पर्ने भएकाले सशस्त्र प्रहरीलाई निकै सास्ती छ । वर्षात् आउनुअगावै टेन्टमा रहेका बिओपीमा बस्ने जवानका लागि नयाँ टेन्टको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताए । “टेन्ट पुराना भइसकेका थिए”, उनले भने, “जगेडा रहेका टेन्ट उपलब्ध गराएका छौँ ।”

जग्गा प्राप्ति नहुँदासम्म केन्द्रले बजेट नदिने व्यवस्थाका कारणले भौतिक संरचना बनाउन नसकिएको उनको भनाइ छ । “सबै ठाउँमा जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ”, उनले भने, “केन्द्रबाट बजेट आएपछि भौतिक संरचना निर्माण गर्छौँ ।”

दुईवटा फरवार्ड अब्जर्बेशन क्याम्पका लागि भने बोलपत्र भएको उनले बताए । वर्षात्का बेला खल्ला मुसेट्टिलाई छाडेर सबै ठाउँमा गाडीमा पुग्न सकिने उनले बताए । उनका अनुसार पाँचदेखि सात किलोमिटरको दूरीमा बिओपी राखिएका छन् ।

“पाँचदेखि सात किलोमिटरमा बिओपी छन् ।बिओपी स्थापना भएपछि सीमामा हुने आपराधिक गतिविधि कम भएका छन्”, उनले भने । डोकेबजारबाट खल्लामुसेट्टिसम्मको भारतसँग जोडिएको एक सय २९ किलोमिटर क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement