सशस्त्रमा तीन एसपी र एक डिएसपीविरुद्ध रासनमा अनियमितता गरेको उजुरी 


काठमाडौं– सशस्त्र प्रहरीका एसपी डिएसपीहरुले रासनमा अनियमितता गरेको भन्दै उजुरी परेको छ । हेलो सरकारमार्फत परेको उजुरी छानविनको लागी सशस्त्रले छानविन समिति गठन गरेको स्रोतको दावी छ । 

सशस्त्र प्रहरीका जवानहरुलाई विदा छोडेर हाकिमले रासनमा अनियमितता गरेको भन्दै हेलो सरकारमा उजुरी परेको हो । स्रोतकाअनुसार दक्षिणकाली गणका एसपी शुरेश श्रेष्ठ, निलवाराही गणका गणपति एसपी नेत्र खत्री,उपत्यका सुरक्षा गणका एसपी राघवसिंह थापा र वाघवैरभ गुल्मपति डिएसपी शुरेश गैरेकाविरुद्ध उजुरी परेको छ । 

सशस्त्र मुख्यालयले गत साता एसएसपी वंशिधर दाहालको संयोजकत्वमा छानविन समीति गठन गरेको छ । छानविन समितिले तीन गण र गुल्मको सम्पुर्ण काजजात झिकाएर अध्ययन समेत गरिसकेको छ । 

समितिले चारै जना कमाण्डहरुसंग समेत वयान लिइसकेको छ । गण, गुल्ममा कार्यरत जवानहरुलाई विदामा छोडेको तर उनिहरुले पाउनुपर्ने पैसा नदिएको प्रारम्भिक छानविनमा देखिएको छ । 

छानविन समितिले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई जानकारी गराइसकेको छ । खनालले लगत्तै चारै जनालाई बोलाएर छलफल समेत गरेका छन् । उनले आफुले विश्वास गरेर कमाण्डमा पठाएको तर त्यसको गलत फाईदा उठाएको भन्दै कार्वाही गर्ने चेतावनी दिइसकेका छन् । 

रासन अनियमिततामा नाम जोडिएका डिसपी गैरे उनका आफन्त हुन् भने तीनै जना एसपी उनि निकट मानिन्छन् । खनालले छानविन समितिको विश्तृत रिपोर्ट आएपछि त्यसैअनुसार अघि बढ्ने चेतावनी दिएको उनि निकट स्रोतको दावी छ ।  

स्रोतकाअनुसार रासनमा सवैभन्दा बढी अनियमितता एसपी थापा र श्रेष्ठको गणमा भएको र त्यसपछि डिएसपी गैरेकोमा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

सशस्त्र प्रहरीमा रासनमा अनिमियतता भएको गुनासो वेला वेलामा आउने थियो । सशस्त्रका तत्कालिन आईजिपी कोषराज वन्तले  रासन र तलवको पैसा सम्बन्धीत व्यक्तिको खातामा राख्नुपर्ने व्यवस्था गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस
Advertisement