सशस्त्रमा सरुवादेखि बढुवासम्म भद्रगोल,आईजीपी खनालमाथि उठ्यो यस्तो प्रश्न ? 


काठमाडौं– सशस्त्र प्रहरीमा एसएसपीको सरुवामा भद्रगोल भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एसएसपीको सरुवामा नियम मिचेर भद्रगोल गरेका हुन् । आईजिपी खनालले असार २९ मा १२ जना एसएसपीको सरुवा गरेका थिए । खनालको सिफारीसमा गृहमन्त्री रामबहादुर थापाले सरुवाको सदर गरेका हुन् । 

जसमा एसएसपीहरु भरतकुमार श्रेष्ठ,हरिशंकर वुढाथोकी,राजेन्द्र बस्नेत, अभिकुमार खत्री, गणेश ठाडा, दुर्गाप्रसाद भट्टराई, कमल गिरी, राजेन्द्र अधिकारी, राजेन्द्र शाक्य, भीमबहादुर थापा र फणिन्द्रराज पौडेल रहेका छन् ।  

सशस्त्र प्रहरी बलमा हालसम्म एसएसपीहरुलाई वरियता र कार्यक्षमताको आधारमा तालिम केन्द्रको कमाण्ड दिईने परम्परा रहेको छ । सशस्त्रमा हाल पोखरामा रहेको हुल तथा दंगा व्यवस्थापन शिक्षालय, ककनीको युएन शान्ति स्थापना तालिम शिक्षालय, कुरिन्टारमा रहेको विपद व्यवस्थापन तालिम शिक्षालय, वर्दघाटमा रहेको सिमा सुरक्षा तालिम शिक्षालय र सशस्त्र प्रहरी जवान तालिम शिक्षालय गरी पांच वटा कमाण्ड छन् । 

तत्कालिन आईजिपी कोषराज वन्तले शसस्त्रमा एसएसपी रामप्रकाश श्रेष्ठलाई कुरिन्टारस्थित तालिम केन्द्रको कमाण्डेण्ट पठाएर स्टिम मिच्ने कामको सुरुवात गरेका थिए । उनले एसएसपीमा बढुवा भएको एक महिनामै कमाण्ड पाएका थिए । श्रेष्ठको कमाण्डको विषयलाई लिएर सशस्त्रमा हंगामा भएको थियो । 

त्यसपछि सशस्त्रमा वरियताको आधारमा कमाण्ड दिने प्रचलन मिच्ने काम आईजिपी खनालले गत वर्ष नै गरेका थिए । उनले एक नम्बरमा रहेका एसएसपी खत्रीलाई कमाण्ड नै नदिएर जुनियरलाई कमाण्ड दिएर सिस्टम मिच्ने कामको सुरुवात गरेका हुन् । वरियतामा अघि रहेका एसएसपी हरिशंकर वुढाथोकीलाई समेत उनले कमाण्डमा छुटाएका छन् । बुढाथोकी खत्रीभन्दा पनि सिनियर एसएसपी हुन् ।  

खनालले दुई नम्बरमा रहेका एसएसपी शम्भु सुवेदीलाई वर्दघाट, तिन नम्बरमा रहेका गणेश ठाडांलाई ककनी र पांच नम्बरमा रहेका एसएसपी कमल गिरीलाई नौवस्ताको कमाण्ड दिएका थिए । त्यसमा राजनीतिक समिकरणलाई हेरेर उक्त जिम्मेवारी दिइएको थियो । खनालले कमाण्डमा पठाएका तिनै जना एसएसपी सरकारको नेतृत्व गरेका प्रभावशाली नेताहरुको सिफारीसमा कमाण्ड पाएका हुन् ।  अघिल्लो पटकको सरुवामा अघिल्लो व्याचका बुढाथोकी पछिल्लो व्याचबाट एक नम्बरमा रहेका खत्री र चार नम्बरमा रहेका भट्टराईलाई छोडेर पांच नम्बरमा रहेका गिरीलाई कमाण्ड दिइएको थियो ।  

खत्रीको व्याचभन्दा अघिल्लो व्याचमा रहेका राजेन्द्र वस्नेतलाई पोखराको कमाण्ड दिइएको थियो भने एसएसपी किशोर प्रधानलाई कुरिन्टारको कमाण्ड दिइएको थियो । प्रधानलाई पनि वरियतामा अघि हुंदा हुंदै पनि पोष्टिङको वेला छुटाइएको थियो । वस्नेतले भने वरियताको आधारमा नै पोखरा पाउनु नियमसंगत नै थियो । कुरिन्टारका तत्कालिन कमाण्डेट प्रजा भक्तको डिआईजीमा बढुवा भएपछि मात्र प्रधानलाई उक्त ठाउंमा पठाइएको थियो । 

अहिलेका आईजिपी खनाल एसएसपी हुंदा तीन नम्बरमा रहेका थिए । खनालको व्याचमा एक नम्बर रहेका तत्कालिन एसएसपी पुष्पराम केसी, नारायणबावु थापा र हालका आईजिपी खनाल तिनै जनाले पोखरामा कमाण्ड पाएका थिए । त्यो वेला ककनीमा रहेको तालिम केन्द्र स्थापना भएको थिएन् । यसअघि तत्कालिन आईजिपी सनत वस्नेतले समेत एसएसपी हुंदा ककनीमा कमाण्ड गरेका थिए ।  

खनालले एसएसपी सरुवाको फाइल दुई साता अघि नै गृहमन्त्रालय पठाएका थिए । तर,गृहसचिव देश वाहिर भएको कारण सरुवा रोकिएको थियो । खनाल निकट स्रोतले एसएसपीको सरुवा गृहसचिव प्रेम राईले वरियता र कार्यक्षमतामा पछि रहेका एसएसपी राजेन्द्र शाक्यलाई कमाण्ड दिन दवाव दिएका कारण वरियता मिचिएको दावी गरेको छ ।  

खनालले सचिव राईको दबावका कारण आफुले एसएसपी सरुवामा सोचेजस्तो गर्न नसकेको बताउंने गरेको उनि निकट स्रोतको दावी छ । जवकी खनालले भनेजस्तो सरुवामा सचिव निकट भनिएका व्यक्तिलाई उनले राम्रो ठाउंमा पोष्टिङ दिएको देखिदैन् । यद्यपी शाक्यको पृष्ठभुमि सशस्त्रमा निकै विवादित रहेको छ । उनि पटक पटक कार्वाहीमा परेका व्यक्ती हुन् । खनालले पोष्टिङमा आफु निकटकालाई प्राथमिकता दिएको सरुवाबाट प्रष्ट देखिन्छ । सरुवामा ककनी र पोखरा गएका दुवै एसएसपी खनाल निकट हुन् । 

‘फोर्स र आम्र्स फोर्सको अन्र्तराष्ट्रिय नियम नै वरियतामा अघि रहेकालाई कमाण्डमा प्राथमिकता पाउने प्रचलन छ, तर हाम्रोमा भने आफु निकट र आर्थीक रुपमा लाभ लिएर सरुवामा अवसर दिने काम भएकोछ ।’ खनाल निकट सशस्त्रका एक एआईजीले काठमाडौंपाटीसंग भने । सशस्त्रका प्रवक्ता सुरज श्रेष्ठलाई यसबारेमा सोध्न खोज्दा उनको टेलिफोन उठाएनन् । 

आईजिपी खनालले यसअघि एसपीको बढुवामा समेत नियम मिचेर भद्रगोल गरेका थिए । उनले जुनियरलाई डिएसपीबाट एसपीमा बढुवा गरेपछि सशस्त्रमा धेरै अधिकृतहरुले असन्तुष्टि व्यक्त गरेका थिए । त्यसैगरी गत महिना भएको डिआईजीको सरुवामा समेत उनले आफु निकटकालाई दोहोर्याएर प्रदेशको कमाण्ड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement