सशस्त्रका एसपीको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा

सशस्त्रका एसपीको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा


काठमाण्डु-तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा, कैलालीका कार्यरत एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

राज्यका सुरक्षा निकायमध्ये नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीमध्ये उच्च पदस्थले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेको थियो । उजुरीको आधारमा सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि साहुले पेस गरेको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियारका अनुसार एसपी साहुले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए । अख्तियारको छानबिनले उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भई लाभ, सुविधा लिएको हुँदा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेले जानकारी दिए । अन्य प्रहरी अधिकृतहरूको शैक्षिक प्रमाणपत्रको विषयमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ ।