सशस्त्रमा ज्वांई आतंक : बढुवामा नपर्ने भएपछी गृहमन्त्रालयकै सूचना गायब !


काठमाण्डु– सशस्त्र प्रहरी बलमा एसएसपीको बढुवा रोकिएको छ । सशस्त्रमा बढुवा अघि बढाउन मंगलबार सूचना नै प्रकाशित भएपनि अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाका ज्वांई नाता पर्ने कामु एसएसपी दिपेन्द्र कुंवरका कारण बढुवा नै रोकिएको छ ।

गृहमन्त्रालयले सोमबार राति सूचना जारी गर्दै बढुवा प्रयोजनका लागि आवदन माग गरेको थियो । तर, अन्तिममा उक्त सूचना नै मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । प्रधानमन्त्री कार्यालयको दबावमा बढुवा रोकिएको स्रोतको दावी छ । प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाले बढुवा रोक्न भुमिका खेलेको बताइन्छ । कामु एसएसपी कुंवर भानुकै सहोदर बहिनी ज्वांई हुन् ।

सशस्त्र प्रहरीको बलका प्रशासन विभाग प्रमुख नारायणदत्त पौडेलले उक्त सूचना जारी गरेका थिए । पछी एकाएक उक्त सूचना गायब भएपछी सशस्त्र मुख्यालयमा हल्लाखल्ला भएको हो । बढुवा प्रक्रिया रोकिएसंगै सशस्त्रका उच्च अधिकारीहरुले त्यसमा असन्तुष्टि जनाएका छन् ।

‘संगठनमा राजनीतिक हस्तक्षेप धेरै भयो, एउटा व्यक्तिलाई हेरेर नियम कानुन परिवर्तन गर्ने र संगठनका अधिकृतहरुको वृतिविकासमा असर गर्ने काम राम्रो भएन् । ’ सशस्त्रका एक उच्च अधिकारीले भने ।

पछिल्लो समय कुंवर सशस्त्रमा यति हावि भएका छन् की उनको संगठनमा सरुवा बढुवादेखी ठेक्का पट्टासम्ममा संलग्नता छ । कुंवरलाई यसअघिका प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले आफु नजिक राखेर प्रधानमन्त्री देउवालाई रिझाउने काम गरेका थिए । अहिले तिनै कुंवरका कारण सशस्त्रभित्र विवाद बढेको छ ।

सशस्त्रमा अहिले चार डिआईजी र २७ जना एसएसपीहरुको दरबन्दी रिक्त छ । तिमध्ये रिक्त एसएसपी पदमा सिसम १ र २ का अधिकृतहरु कामु एसएसपीमा बढुवा भइसकेका छन् । सशस्त्र प्रहरीको नियमावलीमा एसपीबाट एसएसपी हुन चार वर्ष पुगेको हुनुपर्ने नियम छ । उक्त नियमअनुसार सिसम १ का कामु एसएसपीहरुको चार वर्ष वैशाख २६ मै पुगिसकेको छ । तर, उनिहरुलाई बढुवा गर्न सशस्त्र प्रहरी बलको नेतृत्वले सकेको छैन ।

सशस्त्र प्रहरी महानिरक्षिक राजु अर्यालले बढुवाका लागि प्रक्रिया अघि बढाएपनि गृह नेतृत्वले त्यसमा रुची देखाएको छैन । गृहस्रोतले दिएको जानकारीअनुसार सिसम २ का अहिले ११ नम्बरमा रहेका कामु एसएसपी दिपेन्द्र कुवरको चार वर्ष नपुगेकाले उनलाई बढुवा गर्न यो खेल भएको हो । कुंवर डिएसपी हुंदा ७० नम्बरमा थिए । तर, उनलाई सिसम १ संगै बढुवा गर्नको लागि नियम संशोधनको खेल भएको थियो ।

यसअघि सशस्त्रमा एसएसपी पद रिक्त हुंदा पनि एसपीद्वय उद्धव न्यौपाने र दीपेन्द्र कुँवरलाई बढुवा गर्न लामो समय बढुवा नै रोक्ने काम भएको थियो । उद्धव तत्कालिन गृहसचिव महेश्वर न्यौपानेका भाई हुन ।

तत्कालिन सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले उनलाई बढुवा गर्नको लागि नियमावली संशोधन गरेर तिन वर्ष बनाउन खोजेका थिएर तर, उनको प्रस्ताव अहिले अर्थमन्त्रालयमा गएर रोकिएको छ । कुवंरलाई त्यतिमात्र होईन एसएसपी बढुवा भएलगत्तै डिआईजीमा बढुवा गर्न खोजिएको छ ।

यो अनुमान किन पनि मिल्न जान्छ भने सशस्त्रमा डिआईजी बढुवा हुन स्टाफ कलेज गरेको हुनुपर्ने प्रावधान छ । कुवंरले सशस्त्रको स्टाफ कलेजमा दुई पटक जांच दिएपनि उनि अनुउर्तिण भएका थिए । त्यसपछी तिनै खनालले उनलाई विना कुनै प्रतिस्पर्धा नेपाली सेनाको स्टाफ कलेजमा नाम पठाएका थिए ।

सेनाले सशस्त्रलाई प्रत्येक वर्ष एउटा कोटा उपलब्ध गराउंदै आएको छ । कुंवर सशस्त्रमा प्रत्येक वर्ष तक्मा पाउने भाग्मानी अधिकृत समेत हुन् । यद्यपी उनले तक्मा नै पाउनुपर्ने कुनै काम गरेको भने देखिदैन । तर,शक्ति केन्द्र निकट भएका कारण उनले वारम्बार तक्मा र अवसर पाउने गरेका छन् ।

कामुबाट कन्फर्म  हुने लाइनमा रहेका एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह,दिपक अधिकारी,पुरुषोत्तम थापा र अन्जनी पोखरेललगायत छन् । कुंवरको ब्याचमा भने एक नम्बरमा विष्णु भट्ट,दिगविजय सुवेदी,विश्व भट्टराई,भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत र माधव प्रसाद पौडेललगायत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement