दक्षिण सुडानमा खटिएको सशस्त्र प्रहरीको एफपियु सर्वाेत्कृष्ट


काठमाण्डु – द्वन्द्वग्रस्त अफ्रिकी देश दक्षिणी सुडानको जुवामा खटिएको सशस्त्र प्रहरी बलको फम्र्ड पुलिस युनिट (एफ.पि.यु–१) सर्वोकृष्ट घोषित भएको छ ।

विभिन्न देशका ६ वटा एफपियुमध्ये नेपालको एफपियुले उत्कृष्ट काम गरेको भन्दै अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मुल्याङ्कन समितिले राजधानी जुवामा तैनाथ नेपाल एफ.पि.यु.–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो ।

उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मुल्याङ्कन प्रतिबेदनमा नेपाल एफ.पि.यु.ले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोकृष्ट हुन सफल भएको उक्त युनिटका कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)कुमार न्यौपानेले जानकारी दिए ।

मिशनमा तैनाथ एफ.पि.यु.हरु बीच बिभिन्न बिधामा मुल्याङ्कन गरी उत्कृष्टता छनौट गर्ने कडिको रुपमा लिईने यस मुल्याङ्कनलाई एफ.पि.यु.हरुले प्राप्त गर्ने प्राप्ताङ्कका आधारमा उत्कृष्ट छनौट गरिने गरिएको छ । आन्तरिक प्रतिस्पर्धामा समाबेश गरिएका आठ बिधाहरु क्रमशः– मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन ।

प्रत्येक बिधामा अधिकतम चार÷चार अंकका दरले ३२ पुर्णाङ्क छुट्याईएको थियो । १८ फेब्रुअरी सन् २०२१ मा लिईएको उक्त परीक्षण तथा मुल्याङ्कनमा नेपाल एफ.पि.यु–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो । सो एफपियुले खासगरी आन्तरिक शरणार्थीको क्याम्पसको सुरक्षा हेर्दै आएको छ ।

एसएसपी न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटी कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिब प्रसाद गैहे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार शर्मा रहेका छन् ।

उक्त एफ.पि.यु.मा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement