सरकारमाथि खनिए आरेन राई- अल्गोरिदम र प्रचारबाजीमै सीमित भयो, परिणाम केही छैन

सरकारमाथि खनिए आरेन राई- अल्गोरिदम र प्रचारबाजीमै सीमित भयो, परिणाम केही छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार परिणाममुखी कामभन्दा पपुलिजम, स्टन्ट र सामाजिक सञ्जालको अल्गोरिदममा सीमित भएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा बोल्दै राईले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनताले अनुभूति गर्ने गरी कुनै ठोस परिणाम देखाउन नसकेको दाबी गरे।

‘सरकार गठन भएको ६ महिना बितिसक्दा पनि अल्गोरिदम र प्रचारबाजीबाहेक कुनै नतिजा देखिएको छैन,’ राईले भने, ‘सुशासन र विकास निर्माणका काम ठप्प हुँदा वैदेशिक ऋण लिने क्रम भने झनै बढेको छ।’

सरकारले सुरुवाती चरणमा दरबार हत्याकाण्ड, निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण र गिरिबन्धु टी–स्टेट घोटालालगायतका विषयका फाइल खोल्ने दाबी गरे पनि त्यसअनुसार काम हुन नसकेको उनको आरोप छ।

राईले सरकारलाई सामाजिक सञ्जालको अल्गोरिदम र पपुलिजमको पछाडि लाग्नुभन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन र विकास निर्माणमा ध्यान दिन आग्रह गरे।

‘हामी जातीय एजेन्डामा छैनौँ’

राईले श्रम संस्कृति पार्टी जातीय एजेन्डामा आधारित नभएको स्पष्ट पारे। गरिबी, बेरोजगारी र भ्रष्टाचार अन्त्य गर्नु पार्टीको मुख्य एजेन्डा रहेको उनले बताए।

‘हाम्रो पार्टी काम गरेर देखाउनेमा विश्वास गर्छ, त्यसैले वास्तविक कामलाई मात्र सामाजिक सञ्जालमा राख्ने गरेका छौँ,’ उनले भने।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीले भने सामाजिक सञ्जालको अल्गोरिदममार्फत स्टन्ट र सस्तो प्रचारबाजी गरिरहेको आरोप लगाए।

‘रास्वपाले सोसल मिडियाको अल्गोरिदममार्फत स्टन्ट र सस्तो प्रचारबाजी मात्र गरिरहेको छ,’ उनले भने।