काठमाण्डु– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको राजनीतिक विरासत तत्कालीन प्रचार वा हल्लाबाट नभई लामो संघर्ष, त्याग र बलिदानबाट निर्माण भएको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाको आन्दोलनमा कांग्रेसले खेलेको भूमिकालाई स्मरण गरे ।
कांग्रेसको इतिहासमा व्यक्तिगत आकांक्षा र सुखसुविधाभन्दा माथि उठेर राष्ट्र निर्माणमा योगदान गर्ने नेता तथा कार्यकर्ता रहेको उनको भनाइ थियो ।
‘नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ राईले भने, ‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो ।’
राईले कांग्रेसले आफ्नो ऐतिहासिक योगदानलाई आगामी राजनीतिक कार्यदिशासँग जोड्नुपर्ने बताए । सत्तामा कति लामो समय रहने भन्नेभन्दा जनताका पक्षमा कति प्रभावकारी काम गर्न सकिन्छ भन्ने विषय कांग्रेसको प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो ।
उनले आगामी दिनमा कांग्रेसले जनताको हित र कामको परिणामलाई राजनीतिक सफलताको मुख्य आधार बनाउनुपर्नेमा जोड दि ए।




प्रतिक्रिया