नक्कली नेपाली तथा भारतीय रुपैयाँ सहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । बारा महागढीमाई नगरपालिका–२ बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली १ लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी थाना मजौर पञ्चायत जमुनिया ग्राम कुरैया ठेगाना भएका २५ वर्षीय सुधिर कुमार कुशहवा, बारा सिम्रनगढ नगरपालिका–४ ठेगाना भएका २६ वर्षीय मनोज साह तेली र बारा आदर्श कोटवाल गाउँपालिका– ६ पटेर्वा ठेगाना भएका ३० वर्षीय नरेन्द्र प्रसाद कुशहवा रहेका छन् ।

उक्त स्थानमा अवैध लागूऔषध तथा नक्कली नोट कारोवार गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सडक किनारमा ना.५४ प ३८०५ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई फेला पारी शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिककको वोरा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको नक्कली रुपैयाँ बरामद भएको हो ।

उनीहरुको साथबाट नक्कली नेपाली रूपैयाँ १ हजार दरको १ हजार ४ सय ७० थान, १ सय दरको ७ सय ४४ थान तथा भारतीय नक्कली रुपैयाँ ५ सय दरको २ सय ९७ थान र र ५० दरको ७ सय ३ थान प्रहरीले बरामद गरेको हो ।

उनीहरुलाई बरामद नक्कली रुपैयाँ तथा ना.५४ प ३८०५ नम्बरको मोटरसाइकल समेत आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement