काठमाण्डु- सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुर्किना फासोलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ।
शनिबार ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै पाँच गोल गरेको थियो।
लाउटारो मार्टिनेज, जियानलुका प्रेस्टियानी, निको पाज, जुलियन अल्भारेज र बुर्किनाफासोका मौमौने डियालोको आत्मघाती गोलसँगै अर्जेन्टिना पहिलो हाफमै ५–० ले अघि रह्यो।
दोस्रो हाफमा फ्रान्को मास्टान्टुओनो र जुलियानो सिमोनेले गोल थप्दै अर्जेन्टिनाको जित ७–० बनाए।
प्रेस्टियानी, पाज र मास्टान्टुओनोले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरे। मास्टान्टुओनोले खेलको दोस्रो हाफमा गोल गर्दै टोलीका लागि प्रभावशाली प्रदर्शन गरे।
बुर्किना फासोको टोली भने खेलअघि यात्रा समस्याबाट प्रभावित भएको थियो। प्राविधिक समस्याका कारण मोरक्कोबाट अर्जेन्टिना आउने निजी विमान रद्द भएपछि टोली खेल सुरु हुनुभन्दा करिब पाँच घण्टाअघि मात्र ब्युनस आयर्स पुगेको थियो।
थकानका कारण बुर्किना फासोका केही वरिष्ठ खेलाडीले यात्रा नगरेपछि टोलीले अधिकांश युवा खेलाडी मैदानमा उतारेको थियो। कठिन परिस्थितिका बाबजुद खेल खेल्न आएको बुर्किना फासोको टोलीप्रति अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले आभार व्यक्त गरे।
‘बुर्किना फासोबाट आएका खेलाडीलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। उनीहरूले गरेको प्रयासको हामी सम्मान गर्छौँ। उनीहरू नआएको भए खेल रद्द हुन सक्थ्यो,’ स्कालोनीले भने।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी भने खेलमा सहभागी भएनन्। उनी शुक्रबार अर्जेन्टिना पुगेका थिए।
अब अर्जेन्टिनाले मंगलबार मोनुमेन्टलमै बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ। उक्त खेल मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको औपचारिक विदाइका रूपमा रहनेछ।
‘यो सबैका लागि अविस्मरणीय दिन हुनेछ। यो उनको दिन हुनेछ र उनका सहकर्मीका लागि पनि विशेष दिन हुनेछ,’ मेसीको विदाइबारे स्कालोनीले भने।
बेनिन फिफा वरीयतामा ९३औँ स्थानमा छ। नोभेम्बरमा बलियो टोलीसँग खेल्ने सम्भावनाबारे सोध्दा स्कालोनीले अन्तर्राष्ट्रिय खेलका लागि उपलब्ध टोली सीमित रहेकाले छनोटको विकल्प धेरै नरहेको बताए।




प्रतिक्रिया