राइसिना डायलगमा आरजु न वक्ता न अतिथि

राइसिना डायलगमा आरजु न वक्ता न अतिथि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको झारखण्ड राज्यमा रहेको बाबा बैद्यनाथधाममा धार्मिक कार्यक्रम सकेर परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा बिहीबार राजधानी नयाँदिल्ली पुगेकी छन् ।

नयाँ दिल्लीमा मन्त्री राणाको ३ थरी कार्यक्रम छ । पहिला उनले आफ्नो स्वास्थ्यको उपचार गराउने छिन् भने मार्च १७ देखि सुरू हुने राइसिना डायलगमा सहभागी हुनेछिन् । यसका साथै मन्त्री राणाले ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्नेछिन् ।

तर भ्रमणको मुख्य उद्देश्य भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस जयशंकरलाई भेट्नु रहेको नेपालस्थित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू बताउँछन् ।

यसअघि ३ भदौमा भारत भ्रमणका क्रममा राणाले भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेटवार्ता गरेकी थिइन् ।
त्यसपछि युरोपको विभिन्न देश हुँदै ४ पुसमा दिल्ली पुगेकी उनले अथक प्रयासका बाबजुद पनि मोदी र जयशंकरलाई भेट गर्न असफल भइनन् ।

तर यसपटक राणा मोदीसँग भेट गर्ने उनको अथक चाहना छ । भारतीय विदेशमन्त्री जयशंकरसँग उनको भेटवार्ता लगभग निश्चित भएको भारतस्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन् । राइसिना डायलगका क्रममा दुई मन्त्रीहरूबीच भेटवार्ता हुने तय भएको हो ।

‘राइसिना डायलग कार्यक्रमका क्रममा दुई देशका मन्त्रीहरूबीच भेटवार्ता हुने छ, मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले बताए ।

समकक्षीसँग मन्त्री राणाको भेट तय भएपनि प्रधानमन्त्री मोदीसँगको भेट भने अनिश्चिय नै छ । यद्यपी नयाँदिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले मोदीसँग भेटका लागि पहल गरिरहेका छन् ।

छैन नाम

चैत ४ देखि ६ गतेसम्म राइसिना डायलग हुँदैछ । यसको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।

यस कार्यक्रमकमा २१ देशका परराष्ट्रमन्त्रीहरूले सहभागिता जनाउँदैछन् । तर दक्षिण एशियाबाट नेपालसहित भुटान र मालद्विव्स सहभागी हुनेछन् ।

भारतले सन् २०१६ देखि यो कार्यक्रम गर्दै आइरहेको छ । यस कार्यक्रममा विश्वका विभिन्न देशका राजनीतिक व्यक्तित्व, कूटनीतिज्ञ, नीति निर्माता तथा विश्लेषकबिच अन्तर्राष्ट्रिय सम्बन्ध, वैश्विक चुनौती र रणनीतिक विषयमा छलफल तथा विचार विमर्श हुने गर्छ ।

डायलगमा भाग लिन नयाँ दिल्ली पुगेकी मन्त्री राणाको नाम भने मुख्य वक्ताको सूचीमा भने छैन । आयोजक ओआरएफको वेबसाइटमा मन्त्री राणाको नाम वक्ता र अतिथिको रूपमा छैन ।

राइसिना डायलगमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन विशेष अतिथि रहने छन् । यसका साथै विभिन्न देशका सरकारी र गैरसरकारी तहमा झण्डै २५० जना वक्ता रहने छन् । ओआरएफले वेबसाइटमा सबै वक्ताहरूको नाम र तस्विरसहित सामान्य परिचय राखेको छ । तर ती व्यक्तिहरूको सूचीमा नेपालका परराष्ट्रमन्त्री राणाको नाम भने छैन । कतिपयले यसलाई नेपालका मन्त्रीलाई भारतले महत्व नदिएको रूपमा पनि अथ्र्याएका छन् ।

२०७९ सालमा भएको राइसिना डायलगमा भारतले नेपाललाई निम्ता नै दिएको थिएन । तर, २०७८ मा भएको कार्यक्रममा तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई निमन्त्रणा दिएपनि उनले अन्तिम समयमा भ्रमण रद्द गरेका थिए । २०८०मा भएको कार्यक्रममा तत्कालीन परराष्ट्रमन्त्री एनपी सहभागी भएका थिए ।

सम्बन्ध सुधारको अवसर

भारतसँग सम्बन्ध सुधार्न मन्त्री राणाको दौडधुप बाक्लै छ । यस क्रममा उनले योसहित ३ पटक भारतको भ्रमण गरिसकेकी छिन् । तर भारतलाई विश्वासमा ल्याउने सफलता मिलेको छैन ।

जानकारहरूका अनुसार भारतले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणका लागि निम्तो नदिएसम्म दुई देशबीचको सम्बन्धमा सुधार आउने छैन । मन्त्री राणाले भदौमा गरेकी पहिलो भ्रमणमा प्रधानमन्त्री ओलीका तर्फबाट मोदीलाई भ्रमणको निम्तो दिएकी थिइन् । पुसमा गरेकी दोस्रो भ्रमणमा मन्त्री राणाको भेट मोदी र जयशंकरसँग हुन सकेन ।

आगामी अप्रिल २ देखि ४ सम्म नेपालले ‘सगरमाथा संवाद’को आयोजना गर्दैछ । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाउने सरकारको योजना छ । मन्त्री राणाले सगरमाथा संवादमा प्रमुख अतिथिको निम्तो दिने बहानामा मोदीसँग भेट गर्न चाहेकी छिन् ।