सशस्त्र प्रहरी दिवस : उत्कृष्ट बाहिनी अवार्ड मगर र लाइफ टाइम अचिभ्मेन्ट अवार्ड विष्टलाई (फोटोफिचर)

सशस्त्र प्रहरी दिवस : उत्कृष्ट बाहिनी अवार्ड मगर र लाइफ टाइम अचिभ्मेन्ट अवार्ड विष्टलाई (फोटोफिचर)


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज बिष्टलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरेको छ ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित ‘२४औं सशस्त्र प्रहरी दिवस २०८१’मा दुवैलाई अवार्ड प्रदान गरिएको छ ।

यसअघि २०७८ सालमा समेत नायब महानिरीक्षक ठाडा मगरले नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उत्कृष्ट बाहिनी बनाउन सफल भएका थिए ।

विशेष समारोहमा गृहमन्त्री लेखकले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

गृहमन्त्री लेखकले विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपालद्वारा सम्पादित कार्यहरू समेटेर तयार गरी प्रकाशित ‘सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१’को लोकार्पण समेत गरे ।

समारोहमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बल नेपालको २४औं वार्षिकोत्सवको अवसरमा दिएको शुभकामना सुनाएका थिए । उनले विभिन्न चुनौतीको समयमा महत्त्वपूर्ण जिम्मेवारीसहित स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले मुलुकको शान्ति स्थापना, आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायत सामाजिक सेवामा समेत उत्कृष्ट योगदान दिएको बताउँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूले देखाएको इमान्दारिता र बलिदानको प्रशंसा गरे ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा समेत कत्ति पनि विचलित नभई देश र जनताको सेवामा निरन्तर खटिई आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताउँदै सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको बताए ।

उनले मुलुकको आर्थिक सुदृढीकरणमा देखापरेको समस्या नै राजस्व चुहावट र तस्करी भएको हुँदा यसलाई रोकथाम र समाधान गर्न सशस्त्र प्रहरी बल नेपालले देखाएको महत्त्वपूर्ण भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै संगठनको विस्तार गर्न थप जनशक्तिको व्यवस्थापनसहित बोर्डर आउट पोष्टहरू समेत थप गर्न गृहमन्त्रालय प्रयासरत रहेको बताए ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कुनै पनि कर्मचारीले आचारसंहिता उल्लंघन, गैरकानूनी कार्य तथा गतिविधिमा संलग्न नहुनुको साथै जिम्मेवारीबाट विमुख हुने कार्य नगरेको र भविष्यमा समेत नगर्ने बताउँदै संगठनको मर्यादा र जनताको विश्वासलाई कायम राख्दै मानवअधिकारको उच्च सम्मानका साथ कार्य गर्न निर्देशन दिए ।

उनले संगठनमा कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरू इमान्दारितापूर्वक कार्य क्षेत्रमा खटिँदा आइपरेका जस्तोसुकै समस्या र चुनौतीहरूको सामना गर्दा नेपाल सरकार तथा गृह मन्त्रालयले सदैव अभिभावकत्व प्रदान गर्ने बताउँदै सशस्त्र प्रहरी बल नेपालको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्तिको व्यवस्थापन र सुविधामा संगठनलाई थप प्रभावकारी रूपमा विकास गर्न र आवश्यक पर्ने सबै विषयमा आफू सदैव प्रतिबद्ध रहेको समेत बताए ।

गृहमन्त्री लेखकले उद्वार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तथा आधुनिक उपकरणको व्यवस्थापनमा मन्त्रालयले थप प्रयत्न गरिरहेको तथा सशस्त्र प्रहरी बल नेपाल मातहत स्थापना गर्न लागेको फायर फाइटिङ स्कूल सम्बन्धी प्रस्ताव अगाडि बढाइएको चर्चा गर्दै डिजास्टर भोलेयन्टियरको अवधारणालाई समेत मन्त्रालयले सकारात्मक रूपमा लिएको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवादको क्रममा संगठनलाई डोर्‍याउन अग्रजहरूले देखाएको त्याग, बलिदान र समर्पणको उच्च प्रशंसा गर्दै कर्तव्यको बलिवेदीमा प्राणोत्सर्ग गर्ने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहत श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै कर्तव्यपालनको शिलशिलामा घाइते भई उपचाररत सकल दर्जाका राष्ट्रसेवकको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उनले स्थापनाको २५औं वर्षमा आफ्ना नविन पाइलाहरू पदार्पण गरिरहँदा संगठनले राष्ट्रिय जीवनमा आइपरेका विभिन्न घटनाक्रम तथा चुनौतीमा उच्च पराक्रम, अदम्य साहस, सौर्य र वीरता प्रस्तुत गर्दै आइरहेको उल्लेख गर्दै भविष्यमा समेत देश र देशवासीलाई सर्वोपरि ठानी नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार रूप दिई सुशासन तथा तीव्र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल प्रतिबद्ध रहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिकको अपेक्षा अनुरुपको सुरक्षा हाम्रो सरोकारको रुपमा ग्रहण गरी राज्यको जिम्मेवार, भरोसा योग्य र व्यावसायिक सुरक्षा निकायको रूपमा जनमानसमा स्थान सुरक्षित गर्न सफल भएको विश्वास व्यक्त गर्दै सीमा सुरक्षाको अभेद्य पर्खालको रूपमा संगठनले तराईमा झापाको केचनाकवलको उष्णतादेखि सगरमाथाको चुचुरो हिमालको शुष्कतासम्म सबै भूगोलमा अर्थपूर्ण उपस्थिति जनाई नागरिकको उद्धारमा क्रियाशील रही उद्धारका हातहरूलाई भूकम्प, बाढी पहिरो, आगलागी, महामारी तथा दुर्घटना जस्ता प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनाहरूसम्म पुर्‍याउन हरदम तत्पर रहेको बताए ।

राज्य तथा नागरिकको सुरक्षा कुनै व्यक्ति वा एकल संस्थाको प्रयासबाट मात्र नहुने हुँदा अन्य सुरक्षा निकायहरूसँग निकट समन्वयका साथ राज्यप्रदत्त कार्यादेशहरूलाई कुशलतापूर्वक बहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश निर्देशनलाई अक्षरश पालना गरी सेवाप्रतिको निष्ठाभावका साथ सकल दर्जा परिचालित भइरहेको बताउँदै सुरक्षा समन्वयमा अन्य सुरक्षा निकायले प्रदर्शन गरेको बन्धुत्व र भातृत्वभावको सरहाना गरे ।

सशस्त्र प्रहरी बल नेपालका जवानहरूले जागिर होइन सेवा गर्नुपर्छ भन्ने भावनाका साथ काम गरिरहेका बताउँदै महानिरीक्षक अर्यालले ‘जागिर खाएर तलब बुझ्ने ध्यानमा होइन, सेवा गरेर नागरिकको मन मष्तिस्क जित्ने अभियानमा हामी लाग्नुपर्छ’ भन्ने ध्येयका साथ सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई सीमा ईलाकाका जनतासँग रचनात्मक तथा भावनात्मक रुपमा जोडिन ६१ वटा स्वास्थ्य शिविर, ७२७ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम प्रदान तथा ५१४ जना लाभान्वित हुने गरी सीपमूलक तालिम सञ्चालन तथा ५३ वटा शीघ्र असर आयोजना जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपालमा देखिएको मुख्य सुरक्षा चुनौतीहरूमध्ये लागूऔषधको अवैध प्रयोग तथा कारोबार एक हो र सीमा क्षेत्रमा यसको प्रयोग अझ बढी पाइएकोले लागूऔषध, सीमा र युवा लक्षित ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध दुव्र्यसनीसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, समुदायका विद्यालयहरूमा सचेतनामूलक कक्षा सञ्चालन, सडक नाटक, निबन्ध, कविता तथा वक्तित्वकला प्रतियोगिता, भारतीय सशस्त्र सीमा बलसँग समन्वयात्मक बैठक र सीमा नाकाहरुमा लागूऔषध सम्बन्धी कानूनी व्यवस्था उल्लेख गरिएको सूचनामूलक बोर्ड राख्नुको साथै सचेतनामूलक रेडियो कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकलाई महानिरीक्षक अर्यालले विपद्मा परेका नागरिकहरूलाई राज्यद्वारा प्रदान गरिने राहत वितरण कार्यमा हातेमालो गर्न सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूबाट संकलित प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको लागि ५१ लाख ३९ हजार ४०२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

समारोहमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक विकास सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल राष्ट्र बैंकका गभर्नर, गृहसचिव, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रतिनिधि, प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, वहावाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सञ्चारकर्मी लगायत सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानको उपस्थिति थियो ।

default