ओरिया खोलामा बालुवाटार तस्कर र सशस्त्र प्रहरबीच झडप, दुई जना जवान घाइते


काठमाण्डु – पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सशस्त्रका जवानद्वय मुकेश यादव र अयुव यादवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए ।

जगन्नाथपुर गाउँपालिका–१ को ओरिया खोलामा बालुवा झिक्न आएका भारतीय तस्करहरूसँग पिडारीगुठी र महादेवपट्टीको बोर्डर आउट पोस्टबाट खटिएको प्रहरी टोलीसँग झडप भएको हो ।

२५/ ३० जनाको संख्यामा आएका तस्करहरूको समूहले बेल्चा प्रहार गर्दा दुई जना सशस्त्रका जवान घाइते भएको उनले बताए ।

ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्नेक्रम रोकिएको छैन । उसले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको बताइएको छ ।

दैनिक एक हजारभन्दा बढी भारतीय अबैध ट्र्याक्टररुपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको आरोप छ ।

विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए । उनले भने, ‘विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनःअवैधरुपमा बालुवा निकाल्न थालेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement