काठमाण्डु – सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेको एक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीढारा सञ्चालिन कीर्तिपुरस्थित विद्यालयमा ११ करोड हिनामिना गरेको आरोपमा त्यहाँ कार्यरत लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीला लामालाई प्रहरीले पक्राउ गरेको हो ।
इन्स्पेक्टर गुरुङले आफ्नो साथी लामाको खातामा विद्यालयको रकम ट्रान्सफर गरेकी हुन् । सशस्त्र प्रहरीले यस विषयमा गरेको आन्तरिक छानबिनबाट उनीहरूलाई ११ करोड रुपैयाँ हिनामिना गरेको तथ्य खुलेको हो ।
सशस्त्र प्रहरीले डिआइजी युवराज अर्यालको नेतृत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर गुरुङले गैरकानुनी रूपमा संगठनको पैसा अपचलन गरेको समितिको निष्कर्ष छ ।
जिल्ला प्रहरी परिसर, काठमाण्डुका अनुसार सशस्त्र प्रहरी बलकले लेखेको पत्रका आधारमा गुरुङसहित दुईजनालाई पक्राउ गरिएको हो । यसमा आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्न लागिएको छ ।
हिनामिनामा सशस्त्रका अन्य उच्च अधिकारी पनि तानिने सम्भावना छ । इन्स्पेक्टर गुरुङले ६ वर्ष लगातार सो स्कुलमा लेखापाल भएर काम गरेकी थिइन् । उनी एक्लैबाट यति ठुलो रकम हिनामिना सम्भव नभएको प्रहरीको आंशका छ ।
यो प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनमा छन् । सुवेदी हाल डिआजी, केसी एसएसपी र पाण्डे एसपी छन् ।




प्रतिक्रिया