सैनिक शिक्षालयमा सशस्त्र प्रहरीका शिक्षार्थीलाई तालिम गराइँदै


काठमाण्डु – नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानका लागि विशेष क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतिविद्रोह तालिमको थालनी भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत जनशक्तिको पेशागत दक्षता अभिवृद्धिका लागि नेपाली सेनाका विभिन्न शिक्षण संस्थामा विगतदेखि नै तालिम कार्यक्रमहरू आयोजना गरिँदै आएका छन् ।

तालिममा प्रतिविद्रोह, प्रतिआतंकवाद, आईईडी ह्यान्डलिङ, मनोवैज्ञानिक कारबाही, ईन्टेलिजेन्स तथा शहरी एवं ग्रामीण ट्रयाक्टिकल अपरेसन लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ । माघ ४ गतेसम्म सञ्चालन हुने तालिममा अधिकृत १०, जुनियर अधिकृत १२ तथा बिल्लादारहरू १३ गरी जम्मा ३५ जना सशस्त्र प्रहरीहरू सहभागी छन् ।

कानून कार्यान्वयन गर्ने निकायको व्यावसायिक क्षमता बढाउन एवं ती निकायसँग आन्तरिक तथा बाह्य सुरक्षा चुनौती लगायत विपद् व्यवस्थापन र महामारीका समयमा संयुक्त रूपमा परिचालित भई सञ्चालन गरिने कारबाहीको दौरान तालिमले सहयोग पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement