नेपालसहित २२ देशका शान्ति सैनिकबीच फागुनमा अभ्यास ‘शान्ति प्रयास’ सञ्चालन हुने


काठमाण्डु –  अमेरिकी सरकारको सहयोगमा नेपाली सेनाले आगामी फागुन ८ देखि २१ गतेसम्म संयुक्त सैन्य अभ्यास ‘शान्ति प्रयास’ आयोजना गर्ने भएको छ ।

“शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुने भएको हाे ।

शान्ति प्रयास आयोजना गर्न अमेरिकी सरकारको ग्लोबल पिस अप्रेसन इनिसिएटिभ (जीपीओआई)ले सहयोग गर्ने नेपाली सेनाले जनाएको छ ।

संयुक्त सैन्य अभ्यासको पूर्वतयारी स्वरुप गत मंसिर २५ देखि २९ गतेसम्म पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा योजना सम्मेलन सञ्चालन गरिएको थियो । सम्मेलनमा नेपाल, अमेरिका, अष्ट्रेलिया लगायतका देशका प्रतिनिधि सहभागी थिए ।

नेपाल, बंगलादेश, श्रीलंका र संयुक्त राज्य अमेरिकाका सैनिकहरू सम्मिलित भई नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास ‘शान्ति प्रयास’ सञ्चालन भएको थियो । यस्तै सन् २०१३ मा २३ राष्ट्रका ८५० सैनिकहरू र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सैनिकहरू सम्मिलित भई यसको दोस्रो र तेस्रो संस्करण सञ्चालन भइसकेको छ ।

अभ्यास शान्ति प्रयासको चौथो संस्करणमा नेपालसहित २२ राष्ट्रका सैनिकहरूको सहभागिता रहने प्रारम्भिक अनुमान छ ।

अभ्यासमा स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्ट र क्रिटिकल इन्यबलर एण्ड क्यापाबिलिटी इनह्यान्समेन्ट गरी तीन किसिमका गतिविधि समावेश हुने नेपाली सेनाले जनाएको छ । यस्तै, सोही अवधिमा शान्ति कार्यसम्बन्धी क्षेत्रिय तालिम सेमिनार पनि आयोजना गरिनेछ ।

यसप्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूका बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुका साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement