सेनाका नवनियुक्त ५५ जना उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – नेपाली सेनाका नवनियुक्त ५५ जना उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवाअन्तर्गत नवनियुक्त उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट भएका प्राड उपसेनानी २ जना र प्राविधिक उपसेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नवनियुक्त अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आयुक्त पद प्रदान कार्यक्रममा प्रधानसेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले पनि नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नवनियुक्त अधिकृतका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधानसेनापतिले नवनियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement