स्टाफ कलेजमा २९ जना शिक्षार्थीले लिए उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम


काठमाण्डु – नेपाली सेनाका २९ जना शिक्षार्थीले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम लिएका छन् ।

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा फागुन ३० गतेदेखि सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको तालिममा २९ जना शिक्षार्थी सहभागी थिए ।

सि.सं. ९ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम शुक्रबार रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा समापन भएको छ ।

समारोहमा समापन मन्तव्य राख्दै रक्षामन्त्री उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकोले सुदृढ राष्ट्रिय सुरक्षाको लागि राज्यका सम्बन्धित निकायहरूबीच सुरक्षा सम्बन्धी विषयमा साझा बुझाइ र साझा धारणाको विकास गर्न निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको र सबैको सक्रिय प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकमा आन्तरिक तथा बाह्य सुरक्षा सुदृढ हुने बताए ।

सम्बोधनकै क्रममा उनले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्वहरू अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधनस्रोतले सम्पन्न गराउँदै समुचित रूपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीहरूको डटेर सामना गर्नुपर्ने बताए ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा सहभागी शिक्षार्थीहरूलाई बधाई दिँदै प्रधानसेनापति प्रभुराम शर्माले भूमण्डलीकरण र सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको र परम्परागत सुरक्षा खतराहरूका साथै जलवायु परिवर्तन, महामारी, साइबर थ्रेट, आतंकवादका परिष्कृत प्रवृत्ति जस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीहरू समेत क्रमिक रूपमा थपिँदै गएको बताए ।

उनले सामरिक सोच र संस्कृतिको विकास गरी रणनीतिक तहको नेतृत्व उत्पादन गर्ने उद्देश्यले नेपालमै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराउँदै सबै क्षेत्रका रणनीतिक तहमा रहेका नेतृत्व वर्गहरूमा सामरिक सोचलाई थप परिष्कृत गर्दै लैजान सकिएमा राष्ट्रिय शक्तिका प्रमुख तत्वहरूको सामञ्जस्यताले भयरहित सुरक्षा वातावरण सिर्जना भई राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताए ।

सुरक्षा संयन्त्र लगायत सबै सरकारी एवं गैरसरकारी निकायहरू तथा जनताको साझा प्रयासबाट मात्र देशको समग्र सुरक्षा व्यवस्था मजबुत बनाउन सकिने हुँदा सम्भावित खतराहरूको पहिचान र हुन सक्ने चुनौतीहरूलाई यथोचित ढंगबाट सम्बोधन गर्न तालिम सहयोगीसिद्ध हुने उनले बताए ।

तालिमका दौरान चैत्र ९ गते जलवायु परिवर्तनले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे सम्बन्धित विषयका विज्ञहरू र सञ्चारकर्मीहरूसहित १०० जनाको सहभागितामा १ दिवसीय सेमिनार समेत सञ्चालन भएको थियो ।

विक्रम संवत् २०७२ सालबाट शुरु भएको तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संस्थाहरू, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म २२२ जना प्रशिक्षित भइसकेका छन् ।

समारोहमा विभिन्न मन्त्रालयका सचिवहरू, बलाधिकृत रथी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द तथा अधिकृत, सरकारी निकायका पदाधिकारीहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement