हिमाल सफा गर्ने सेनाको टोली स्याङ्गबोचे इलाकामा अवतरण


काठमाण्डु – हिमाल सफा गर्ने सेनाको टोली स्याङ्गबोचे इलाकामा अवतरण भएको छ ।

सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान–२०२४ मा संलग्न टोली नेपाली सेनाको हवाई साधनमार्फत स्याङ्गबोचे इलाकामा पुगेको हो ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायसँग अन्तर्क्रिया गर्दै करीब ७ दिनको पदयात्रापश्चात् टोली सगरमाथा आधार शिविर पुग्ने योजना छ । पदयात्राका क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइ समेत गरिनेछ ।

अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करीब १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ ।

यसअघि गत चैत्र २९ गते जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले क्याम्पियन लिडर सेनानी आदित्य कार्कीलाई क्याम्पियन फ्ल्याग हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement