काठमाण्डु – नेपाली सेनाको शान्ति कार्य तालिम केन्द्रमा प्रधानसेनापति प्रभुराम शर्माले मेसको शिलान्यास तथा उद्घाटन गरेका छन् ।
केन्द्रमा निर्माण गर्न लागिएको जवान लाइन र पदिक मेसको प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार शिलान्यास गरे ।
कार्यक्रममा उनले निर्माण सम्पन्न भएका अधिकृत मेस, पदिक मेस, जवान वासस्थान, जवान डाइनिङ हल र बहुउपयोगी स्टोर भवनहरूको शुक्रबारै उद्घाटन गरेका छन् । सो अवसरमा प्रधानसेनापति शर्माले केन्द्रमा सञ्चालित तालिम लगायत विविध पक्षबारे जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन समेत गरेका थिए ।
विक्रम संवत् २०४३ सालमा शान्ति सैनिकको रूपमा खटिने नेपाली शान्ति सैनिकहरूलाई तालिम प्रदान गर्न पाँचखाल तालिम शिविरको रूपमा स्थापना भएको तालिम केन्द्र विक्रम संवत् २०५८ सालमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको रूपमा नामकरण भएको थियो । तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा सहभागी हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्न संयुक्त राष्ट्र संघमा आबद्ध देशका सैनिकहरूबीच विभिन्न समयमा संयुक्त तालिम तथा अभ्यासहरू समेत सञ्चालन हुँदै आएका छन् ।
शिलान्यास तथा उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति थियो ।
संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यमा खटिने नेपाली सेनाका सकल दर्जालाई प्रि–डिप्लोइमेण्ट तालिम दिने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा स्थापना भएको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना अनुरूप विभिन्न भौतिक संरचनाहरूको निर्माण कार्य भइरहेका छन् ।
प्रतिक्रिया