काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि आजदेखि नेपाली सेनाको कमाण्ड अशोकराज सिग्देलको हातमा आएको छ ।
प्रधानसेनापति शर्मा बिदा बस्ने भएपछि सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने निर्णय गरेको छ ।
बिहीबार जंगीअड्डामा आयोजित समारोहबीच सैनिक ऐन २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयबमोजिम राष्ट्रपतिबाट २०८१ साउन २५ गतेको मितिबाट कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी प्राप्त गरेका बलाधिकृत रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् ।
नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करीब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका प्रधानसेनापति शर्मा २०८१ भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् । नेपाली सेनाको प्रचलित परम्पराअनुसार उनी मिति २०८१ साउन २५ गतेबाट बिदामा बस्दैछन् ।
नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरू, रक्षा सचिव लगायत रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकल दर्जाको उपस्थिति रहेको कार्यक्रममा प्रधानसेनापति महारथी शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवं उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुशी व्यक्त गरे । उनले रथी सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाई दिए ।
प्रधानसेनापति शर्माले बिहीबारै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक, छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलि समेत अर्पण गरेका थिए ।
प्रतिक्रिया