प्रधानसेनापति सिग्देलको पहिलो सम्बोधन : कमाण्ड मार्गनिर्देशन जारी हुने

प्रधानसेनापति सिग्देलको पहिलो सम्बोधन : कमाण्ड मार्गनिर्देशन जारी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन जारी हुने बताएका छन् ।

जङ्गीअड्डास्थित सभामण्डपमा सकलदर्जालाई पहिलोपटक सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दीगोपना तथा सेवा विस्तार जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै ७ वटा लक्ष्यहरू समावेश गरी ‘प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन २०८१’ जारी हुने जनाएका छन् ।

सम्बोधनको क्रममा उनले प्राथमिकताहरू र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन दिए । उनले सम्बोधनको शुभारम्भमा कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिने सम्पूर्ण वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सैनिक सेवाको दौरान घाइते भई उपचाररत सकलदर्जाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

नेपालको संविधान बमोजिम गौरवशाली इतिहास भएको नेपाली सेनाको प्रधानसेनापतिमा आफू नियुक्त भएकोमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, नेपाल सरकार लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

सम्बोधनको अन्त्यमा उनले नेपाली सेनालाई साथ र सहयोग गर्ने मित्र राष्ट्रहरू, नेपालस्थित मित्र राष्ट्रका नियोगहरू, मित्र राष्ट्रका सेनाहरू र नेपालस्थित सैनिक सहचारीहरूप्रति आभार व्यक्त गरे ।

उनले नेपालको संविधानद्वारा प्रदत्त जिम्मेवारीहरू नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको बताए । उनले भने, ‘राष्ट्रमा आइपर्ने जटिल समस्याहरूको समाधान गर्न राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो । नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच २०८७ लगायतलाई आधारमानी संगठनको सुदृढीकरण गर्दै लगिनेछ ।’

राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय संयन्त्रहरूको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरूको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमा नै सञ्चालनमा ल्याइने उनले बताए ।

उनले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्‍याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने बताए ।

उनले भने, ‘नेपाली सेना र नागरिक बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनको लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरूको सुरक्षामा योगदान पुर्‍याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।’

राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उनले बताए । ‘सबैभन्दामाथि संस्था रहेको हुँदा सबैलाई खुशी बनाउनेभन्दा पनि समग्र संस्थाको हितको लागि कार्य गर्न, सही नियतले काम गर्न नडराउन तर कसैले व्यक्तिगत आकांक्षा, कुण्ठा र सस्तो लोकप्रियताको लागि संस्थागत भाइचारा र आपसी विश्वासमा कमी ल्याउने तथा संस्थाको तेजोबध गर्ने प्रकृतिका कार्यहरू गरेको पाइएमा क्षम्य नहुने । साथै, पहिलो र अन्तिम तथा एकमात्र मूलमन्त्र भनेको ‘सैनिक अनुशासन र सैनिक मर्यादा’ रहेको,’ उनले भने ।

ऐतिहासिक अनुभवलाई समेत आत्मसात गर्दै भूगोल सुहाउँदो सैनिक ज्ञान, सिप र युद्धकला क्षमता वृद्धिको लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन समय सापेक्ष सुधार गरिने उनले बताए ।

‘शान्ति सैनिकको तालिम तथा बन्दोबस्ती सामग्रीहरूको व्यवस्थापनमा विशेष पहल गरिनेछ,’ उनले भने, ‘नेपाली सेनाले राष्ट्रिय खेलकुद विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेकोमा खेलकुद विकासलाई प्राथमिकतामा राखिनेछ ।’

नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बंकर टू ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादन लगायतका कार्यहरूलाई व्यवस्थित गर्दै लगिने उनले बताए ।

काठमाण्डु–तराई/मधेश द्रुतमार्ग लगायत अन्य सडक करिडोरहरूको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमितता लगायतका क्रियाकलापहरू अस्वीकार्य हुने उनले बताए । ‘नेपाली सेनाको कल्याणकारी कोषको दीगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावको आधारमा थप प्रभावकारी बनाउँदै लगिनेछ,’ उनले भने, ‘४ देखि १२ कक्षासम्म अध्ययनरत नेपाली सेनाको बहालवाला तथा अवकाशप्राप्त सकलदर्जाको एक सन्ततीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकममा ५ हजार थप गरी वार्षिक २५ हजार कायम गरिनेछ ।’

पारिवारिक निवृत्तिभरणमा रहेका सबै एकल महिलाहरूलाई प्रदान गरिँदै आएको कल्याणकारी निवृत्तिभरणमा मासिक ५०० रुपैयाँका दरले थप गरिने उनले बताए । ‘नेपालमा विपद्का कारण हुने धनजनको क्षतिलाई मध्यनजर गरी नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्दै लगिनेछ,’ उनले भने, ‘नेपाल सरकारबाट घोषित जटिल प्रकृतिका रोग लागेका हिताधिकारीहरूलाई बहिरङ्ग उपचारको वार्षिक सीमा पुनरावलोकन गरिनेछ भने विगत द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइनेछ ।’

अवकाशपछि पनि आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्षम बनाउने उद्देश्यका लागि नेपाल सरकारका अन्य निकायसँग समन्वय र साझेदारी गरी विज्ञ सहितको टोलीबाट थप क्षेत्रहरू पहिचान गर्दै व्यावसायिक र सीपमूलक तालिमलाई विस्तार गरिने उनले बताए ।

‘तहगत रूपमा तैनाथ कमाण्डरहरूद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ,’ उनले भने, ‘आगामी दिनमा राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न नेपाली सेना र सञ्चार माध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिनेछ ।’

नेपाली सेनाका सबै युनिटहरूमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरूको उपस्थिति थियो ।