सालझण्डीमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास सूर्यकिरण–१८ सुरु

सालझण्डीमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास सूर्यकिरण–१८ सुरु


काठमाण्डु – नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौं संस्करण मंगलबार रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कूलमा सुरु भएको छ ।

श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुनले औपचारिक कार्यक्रमबीच अभ्यासको शुभारम्भ गरेका छन् ।

नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्व र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा कूल ६६८ जना सैनिकहरू सहभागी भई सञ्चालन भएको संयुक्त अभ्यास २०८१ पुस २९ गते सम्पन्न हुने कार्यक्रम छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरणको सत्रौं संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो । विक्रम संवत् २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ ।

अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा २ देशका सैनिकहरूले सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान गर्नेछन् ।

संयुक्त सैनिक अभ्यासले २ देशबीच सदियौंदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेशागत सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।