काठमाण्डु – नेपाली सेनामा अर्का एक जर्नेललाई प्रधानसेनापति अशोकराज सिग्देलले पदावधि थप नगरेर अवकाशमा पठाएका छन् ।
सेनापतिले उपरथी दिपक कुमार बानियाको पदावधि थप नगर्दै घर पठाएका हुन् । उनको ३ वर्षको अवधि पूरा हुन १५ दिन बाँकी रहँदै प्रधानसेनापति सिग्देलको निर्देशनमा अवकाशपत्र थमाइएको छ ।
उपरथीको पदावधि थप गर्ने/नगर्ने विषय प्रधानसेनापतिमा निर्भर रहन्छ । सामान्यतया उमेर र कार्यसम्पादन राम्रो भएको अवस्थामा पदावधि थप गर्ने प्रचलन भए पनि पछिल्लो समय प्रधानसेनापतिहरूले यसैलाई प्रतिशोध साँध्ने हतियार बनाउने गरेका छन् ।
यसअघिका प्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र प्रभुराम शर्माले समेत अनुज बस्नेत, देव सुवेदी र अनन्त कार्की लगायतलाई विभिन्न आरोप लगाएर उपरथीबाटै अवकाशमा पठाएका थिए । अहिले सिग्देलले समेत २ जना जर्नेललाई अवकाशमा पठाइसकेका छन् ।
यद्यपि यसबारे अहिलेसम्म सेनाको कुनै आधिकारिक धारणा आएको छैन ।
उपरथी बानियाको पदावधि थप भएको अवस्थामा उनी ३ तारे जर्नेल हुने पक्कापक्की थियो । सेनामा उपरथीको नियमित पदावधि ३ वर्ष र उमेर रहेको अवस्थामा अरु २ वर्ष थप्न सक्ने प्रावधान छ ।
बानियाको पदावधि किन थप भएन भन्ने नखुेले पनि सेनापतिले उनको पदावधि थप्न नखोजेको सैनिक स्रोतको दाबी छ । बानिया यसअघि सिग्देल निकट भएको चर्चा थियो । तर पछिल्लो समय उनी बानियाको कामसँग सन्तुष्ट नभएको बताइन्छ ।
सिग्देल प्रधानसेनापति नियुक्त भएपछि ३ तारेको लाइनमा रहेका बाबुराम श्रेष्ठलाई समेत पदबाट हटाइएको थियो । उनीमाथि समेत आर्थिक अनुशासनको आरोप लगाइएको थियो । श्रेष्ठले सिग्देललाई फालेर आफू प्रधानसेनापति बन्न लागेको आरोप थियो । पछि सिग्देल प्रधानसेनापति भएसँगै उनलाई नजरबन्दमा नै राखेर छानबिन अघि बढेको थियो ।
सेनाको कार्यरथी विभाग प्रमुख रहेका उपरथी बानियाको पदावधि थप नभएसँगै उपरथीहरू गणेश श्रेष्ठ वा विष्णु रावतमध्ये १ जना ३ तारे बन्ने लाइनमा पुगेका छन् । श्रेष्ठ अहिले सेनाको सम्भाररथी विभाग प्रमुख छन् । त्यति मात्र होइन, यसले सेनापतिको कोर टीममा रहेका सहायक रथीहरू पूर्ण खत्री, ध्रुव कार्की र विष्णु खड्कालाई समेत २ तारे बन्ने बाटो खुलेको छ ।
प्रतिक्रिया