काठमाण्डु – नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम शुक्रबार समापन भएको छ ।
तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।
नेपाली सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २ हजार ५६४ जना पुरुष तथा ३८७ जना महिला गरी कूल २ हजार ९५१ जना सैन्यहरू दीक्षित भएका छन् ।
तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नम्बर १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी निर्मल कुमार थापा, श्री नम्बर २ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह लगायत विभिन्न पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, बाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।
विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति थियो ।
प्रतिक्रिया