काठमाण्डु – नेपाली सेनाले विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सेना तथा यसको नेतृत्वलाई लक्षित गरी प्रसारण भइरहेका तथ्यहीन र भ्रामक सूचनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जङ्गी अड्डाले शुक्रबार अपिल जारी गर्दै यस्ता कपोकल्पित सामग्रीहरूले आमनागरिकमा भ्रम सिर्जना गर्ने भन्दै त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराएको हो ।
सेनाले जारी गरेको अपिलमा भनिएको छ, ‘विगत केही समयदेखि नेपाली सेना र नेतृत्वलाई उल्लेख गरी प्रसारण भएका तथ्यहीन सूचना एवम् अभिव्यक्तिप्रति सेनाको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता भ्रामक सामग्रीहरूले नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा यसको प्रसारण नगर्न अनुरोध गरिन्छ ।’
सेनाले यस्ता उच्छृंखल तथा अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको समेत स्पष्ट पारेको छ । अपिलमार्फत सेनाले नेतृत्वको बदनाम गर्ने वा आधारहीन आरोप लगाउने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने स्मरण गराएको छ ।
सेनाले आमजनमानसलाई पनि यस्ता आधारहीन र द्वेषपूर्ण समाचार तथा टीका–टिप्पणीहरूको विश्वास नगर्न आग्रह गरेको छ । आधिकारिक सूचनाका लागि सेनाको वेबसाइट, आधिकारिक सामाजिक सञ्जाल र जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सिधा समन्वय गर्न सेनाले सबैलाई अनुरोध गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा सेनाको संवेदनशीलता र नेतृत्वको मर्यादामा आँच पुग्ने सामग्रीहरू बढ्दै गएपछि सेनाले सचेत गराएको छ ।





प्रतिक्रिया