भोटेकोशी बाढीपछि नेपाली सेनाबाट ३ हजार ९२५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीपछि नेपाली सेनाबाट ३ हजार ९२५ जनाको हवाई उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।

नेपाली सेनाका अनुसार बुधबार साँझ ७ बजेसम्म हवाई साधनमार्फत थप ३४ जनाको उद्धार गरिएको छ ।

यससँगै नेपाली सेनाले हालसम्म हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९२५ जनाको उद्धार गरेको जनाएको छ ।

बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा समेत खोज तथा उद्धार कार्य जारी छ । रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका इन्जिनीयर सहितको टोलीले सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरिरहेको छ । उद्धार कार्यलाई थप तीव्र बनाउन हेभी मशिन तथा एक्स्काभेटर सुरुङ क्षेत्रमा पुर्‍याउने तयारी भइरहेको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ ।

चिलिमे जलविद्युत् आयोजनामा माउन्टेन एसोसिएसनका प्रतिनिधि, विदेशी नागरिक सहितको संयुक्त टोली सुरुङभित्र १५० मिटरसम्म पुगेको छ । सुरुङ बन्द अवस्थामा फेला परेपछि साउन्ड डिटेक्टरमार्फत निगरानी गर्ने काम भइरहेको छ ।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा सुरुङको मुख ढुंगाले छेकिएको अवस्थामा रहेकाले संयुक्त टोलीले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ । हाकुबेँसी क्षेत्रमा विदेशी नागरिकसहितको संयुक्त टोलीले सुरुङभित्र २६० मिटरसम्म पुगेर खोजी गरे पनि हालसम्म केही फेला नपरेको जनाएको छ ।

आयोजनाको मुख्य सुरुङमा २५ मिटर, एक्सेस सुरुङ–१ बाट करिब १५० मिटर र एक्सेस सुरुङ–२ बाट करिब २० मिटरभित्र पुगेपछि २६ मिटर पानी रहेको डिसेन्डर बेसिनसम्म टोली पुगेको छ । बेसिनको अगाडिको भाग भने बन्द अवस्थामा फेला परेको छ ।

त्रिशूली–३ ‘ए’मा ब्लास्टिङमार्फत अवरोध हटाउने प्रयास

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोली परिचालित छ । टोलीले ४ वटा स्काभेटर र एकवटा बबक्याट प्रयोग गरी माटो पन्छाउने काम गरिरहेको छ ।

कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङमार्फत सुरुङभित्रको अवरोध हटाउने प्रयास भइरहेको छ । सुरुङको आउटलेटमा लेदो भरिएका कारण बबक्याटमार्फत माटो हटाउने तथा अगाडि रहेको चट्टान ब्लास्टिङ गर्ने कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१ जना, गैरसैनिक ३ जना तथा आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ । टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरी बबक्याटको सहयोगमा कार्यालय तथा क्याम्प क्षेत्रमा खोजी गरिरहेको छ ।

बस्ती, जंगल र खोला क्षेत्रमा पैदल गस्ती

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा स्थानीय नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउँदै खोज तथा उद्धार कार्य भइरहेको छ । स्वास्थ्यकर्मी तथा चिकित्सक अधिकृत सहितको टोलीले पैदल गस्तीमार्फत स्वास्थ्य सेवा समेत उपलब्ध गराइरहेको छ ।

त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । टिमुरे क्षेत्रमा फेला परेका शवलाई व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसनसमेत सुरु गरिएको छ ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन, राहत सामग्री ढुवानी तथा आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा निसंक्रमण अभियान

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण तथा सरसफाइ कायम गर्न निसंक्रमण गर्ने कामसमेत अघि बढाइएको छ । रसुवाको धुन्चे र रेड पान्डा क्षेत्र, नुवाकोटको सैन्य तालिम केन्द्र तथा त्रिशूली, चितवनको देवघाट, धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र तथा शव फेला परेका स्थानमा निसंक्रमणको काम भइरहेको छ ।

कास्कीको याम्दी–बाटुलीचौर, तनहुँको व्यास–५ चैनपुर तथा नवलपरासी पश्चिमका पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव संकलन केन्द्र, सुनवल नगरपालिका–४ तथा मुलपानी सामुदायिक वन लगायतका क्षेत्रमा समेत निसंक्रमण कार्य भइरहेको छ । बाँकी प्रभावित क्षेत्रमा स्थानीय निकायसँगको समन्वयमा निसंक्रमण कार्य अघि बढाउने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धारसँगै जलविद्युत् आयोजनाका सुरुङमा उद्धार, शव व्यवस्थापन, राहत ढुवानी, सडक सञ्चालन तथा स्वास्थ्य सुरक्षाका कामलाई एकसाथ अघि बढाइएको छ ।