काठमाण्डु – भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले बुधबार पनि हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ ।
सेनाले बुधबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ८१ जनाको हवाई उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार बुधबार साँझ ६:३० बजेसम्म हवाई साधनमार्फत ४ हजार ८१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ७९८ नेपाली र २८३ जना विदेशी नागरिक छन् ।
रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल पोइन्टसम्म पुगेर थप खोजी गरिरहेको सेनाले जनाएको छ ।
रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा नेपाली सेनाको टोली करिब ५० मिटरसम्म प्रवेश गरी खोजी गर्दा १ शव फेला परेको छ । घटनास्थलमा थप खोजी कार्य जारी रहेको छ ।
लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ । टनेलभित्र पानीको मात्रा कम गर्न च्यानल निर्माणको काम समेत भइरहेको छ ।
चिलिमे हाइड्रोमा विदेशी नागरिक सहितको संयुक्त टोली टनेलभित्र करिब १४० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ । एभाटा ड्रोनमार्फत ४० मिटरसम्म खोजी गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ । टनेलसम्म भारी उपकरण पुर्याउन पहुँचमार्ग निर्माण भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ मा १२०० मिटरसम्म खोजी
माथिल्लो त्रिशूली–१ आयोजनाअन्तर्गत हाकुबेशीस्थित अडिट–३ टनेलमा विदेशी नागरिकसहितको संयुक्त टोली करिब १ हजार २०० मिटरभित्र प्रवेश गरी खोजी गरेको छ । उक्त क्रममा केही फेला नपरेको जनाइएको छ ।
त्रिशूली–३ ए को पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । त्यहाँ नेपाली सेनाका ३५, नेपाल प्रहरीका १० र सशस्त्र प्रहरी बलका १० जना सहितको टोली परिचालन गरिएको छ ।
त्रिशूली–३ बी मा नेपाली सेनाका ८७, नेपाल प्रहरीका ४, सशस्त्र प्रहरी बलका १० जना तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले ३ वटा एक्स्काभेटर प्रयोग गरेर उत्खनन् गरिरहेको छ । करिब ११ मिटर गहिराइसम्म उत्खनन गर्ने क्रममा करिब ४ फिटको बीम वा पिलर तथा केही इँटा फेला परेका छन् ।
देवीघाटमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनीयरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई तीव्रता दिएको छ ।
बाढीबाट प्रभावित सडक तथा यातायात सम्पर्क पुन:स्थापित गर्ने उद्देश्यले पुल निर्माणको काम भइरहेको सेनाले जनाएको छ ।

जमिनमा पनि खोजी र राहत
सेनाले रसुवा र नुवाकोटका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, मैलुङ, स्याफ्रुबेसीलगायत क्षेत्रमा पैदल गस्तीमार्फत खोजी गरिरहेको छ । विदेशी नागरिकसहितको संयुक्त टोलीले देवीघाट क्षेत्रमा करिब ५ किलोमिटर तथा टिमुरे क्षेत्रमा थर्मल ड्रोनमार्फत खोजी गरेको छ । खोजीमा हालसम्म केही फेला नपरेको जनाइएको छ ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार २४ जनाले स्वास्थ्य सेवा लिएका छन् । हालसम्म यी सेवाबाट ३ हजार ५५९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ८ हजार ८०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपतकालीन उपचार लगायतका काम गरिरहेका छन् ।




प्रतिक्रिया