भोटेकोशी बाढीपछि टनेल उद्धारमा नेपाली सेना, चिलिमेमा ६५ मिटर लेदो हटाइयो

भोटेकोशी बाढीपछि टनेल उद्धारमा नेपाली सेना, चिलिमेमा ६५ मिटर लेदो हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्रता दिएको छ ।

रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका टनेल तथा आयोजनास्थलमा संयुक्त टोली परिचालन गरी खोजी तथा उत्खनन् भइरहेको छ ।

सेनाका अनुसार चिलिमे हाइड्रोको टनेलमा विदेशी नागरिक सहितको संयुक्त टोलीले खोजी कार्यलाई तीव्र बनाएको छ । स्याफ्रुबेसीदेखि टनेलसम्म भारी उपकरण लैजान करिब १ हजार ५० मिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको छ । टनेलभित्र ४ वटा ६/६ मिटर लम्बाइका ठूला पाइप प्रयोग गरी आवतजावत गर्न मिल्ने बाटो तयार पार्ने काम भइरहेको छ ।

टनेलभित्र एक्स्काभेटर प्रयोग गरी हालसम्म करिब ६५ मिटर लेदो हटाइएको र थप खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम तथा विदेशी नागरिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी गरिरहेको छ । लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त टोलीले टनेलभित्रको सम्पूर्ण क्षेत्रमा खोजी गर्दा हालसम्म केही फेला नपरेको जनाइएको छ ।

माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीस्थित अडिट–३ टनेलमा नेपाली सेना सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ ए को पावर हाउस तथा टनेल क्षेत्रमा पनि संयुक्त टोलीले खोजी जारी राखेको छ ।

त्रिशूली–३ बीमा नेपाली सेना सहितको संयुक्त टोलीले जलविद्युत् आयोजना क्षेत्रमा उत्खनन् कार्यलाई निरन्तरता दिएको छ ।

हवाई उद्धारबाट ४ हजार १५७ जनाको उद्धार

टनेलमा खोजी जारी रहँदा नेपाली सेनाले शनिबार विभिन्न प्रभावित क्षेत्रबाट थप २० जनाको हवाई उद्धार गरेको छ । हालसम्म हवाई साधनमार्फत ४ हजार १५७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । उद्धार गरिएकामध्ये ३ हजार ८७४ नेपाली र २८३ जना विदेशी नागरिक छन् ।

जमिनतर्फ रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत विभिन्न स्थानमा पैदल गस्ती गरी खोजी भइरहेको छ ।

भोटेकोशी बाढीपछि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ८०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपतकालीन उपचार लगायतका काम गरिरहेका छन् ।

यसैबिच नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट शनिबार ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसबाट हालसम्म ३ हजार ७२० जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन् ।