काठमाण्डु – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण र अवरुद्ध सडक खुलाउने कार्यलाई निरन्तरता दिएको छ ।
पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएको खबर प्राप्त भएपछि नयाँ रणभीम गुल्मबाट नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।
सेनाले प्रभावित स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सरसामान सार्न सहयोग गरिरहेको जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिम सिर्जना भएपछि स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणको फौज खटिएको छ ।
त्यसैगरी सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानको जोखिम बढेपछि गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट नेपाली सेनाको टोली खटिई स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ ।
पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरेको सूचना प्राप्त भएपछि दि फेमस महिन्द्र दल गणको फौज घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्यमा जुटेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ देवघाट र भरतपुर महानगरपालिका–३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको फौज स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खटिएको छ ।

धनुषाको मिथिला नगरपालिका–११ आपगाछी, चुरेमा पहिरो गई घर पुरिएको सूचना प्राप्त भएपछि नेपाली सेनाको टोली खोज तथा उद्धारका लागि परिचालन गरिएको छ ।
यसैबिच, तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो आएर अवरुद्ध भएको सडक खण्ड नेपाली सेनाले खुलाएको छ । काली भञ्जन गण (ई) बाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा सडकमा रहेको अवरोध हटाएपछि उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको सेनाले जनाएको छ ।
अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक खुलाउने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।




प्रतिक्रिया