सेनामा अनुशासन कायम गर्दै प्रधानसेनापति, सैनिक अधिकारीलाई आचारसंहिता लागू


काठमाडौं– गत २४ भदौमा प्रधानसेनापति नियुक्त भएका पूर्णचन्द्र थापाले सेनामा सुधारका लागि काम अगाडि बढाएका छन्।

प्रधानसेनापति नियुक्तिसँगै आर्मी अफिसर्स क्लब भाडामा दिन बन्द गराएका उनले त्यसलगत्तै राम्रो कामका लागि आदेश कुर्नु नपर्ने भनेर सार्वजनिक रुपमा बताएका थापा एकपछि अर्काे गर्दै सुधारको काममा लागेका छन् ।

सेनाभित्र अनुशानविपरीत क्रियाकलाप हुने गरेको आरोप लागिरहेका बेला उनले सैनिक अधिकारीहरुका लागि आचारसंहिता समेत जारी गरेका छन्।

नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेर हरेक युनिटमा वितरण गरिएको छ। आचार संहितालाई लागु गराउन सेनाले देखि ‘आचार संहिता सप्ताह’ पनि शुक्रबारदेखि सुरू हुँदैछ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञाननाथ पाण्डेका अनुसार यसअघि नीति, निर्देशन र सर्कुलरका रूपमा केही नियम लागु गरिएपनि आचार संहिता बनाएर त्यसलाई कार्यान्वयन गर्न अभियान चलाइएको पहिलो पटक हो ।

विभिन्न खण्डमा रहेको पुस्तिकामा सैनिक आचरण, मूल्य–मान्यता, आर्थिक कारोबार तथा बजेट, मिडिया नीति, सामाजिक सञ्जाल प्रयोगको परिधि लगायत समेटिएका छन् ।

आफ्नो जाति धर्म क्षेत्रसँग सम्बन्धित आन्दोलनबारे सामाजिक सञ्जालमा वा अन्य प्रकारका प्रचारप्रसार गर्ने अभिप्रायले प्रयोग गर्ने वा उक्त लेख सामाग्री लाइक कमेन्ट र सेयर गर्न नपाइने नियम सेनाले बनाएको छ। कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सेनाको अनावश्यक टिप्पणी तथा गोप्य सूचना चुहाउने काम गरे कारबाही गर्ने आचारसंहितामा व्यवस्था गरिएको छ।

आचारसंहितामा सैनिकले कुनै पार्टीको सभा, समारोह, सम्मेलन, प्रदर्शन, अन्तरक्रिया छलफल तथा प्रशिक्षणमा सहभागी हुन पनि पूर्ण रूपमा निषेध गरेको छ। गोप्य सैनिक सूचना चुहाउनु नहुने पनि भनिएको छ ।

संहितामा ठेकदारले प्रलोभन देखाउन सक्ने जनाउँदै कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुन पनि भनिएको छ,भने यसअघि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने अधिकारीले युुनिटका लागि विभिन्न किसिमका उपहार ल्याउने बाध्यात्मक प्रचलन रहे पनि अब कुनै किमिसको उपहार ल्याउनु नपर्ने व्यवस्था गरिएको छ।

विदेशी नियोगसँग गरिने सबै पत्राचार सेनाको विदेश शाखामार्फत् हुनु पर्ने र यस्ता पत्राचार इमेलमार्फत् गर्दा नेपाली सेनाको आधिकारिक इमेलबाट मात्रै गर्नु पर्ने प्रावधान आचारसंहितामा राखिएको छ।

लैंगिक आधारमा कसैलाई एक्ल्याउने, छुट्याउने वा वास्ता नगर्ने कार्यलाई निरुत्साहित गर्न आचारसंहितामार्फत् निर्देशन दिइएको छ।

‘पदोन्नति सरूवा शान्ति सेनाजस्ता अवसरको प्रलोभन देखाई शारीरिक सम्बन्ध स्थापना गर्नु अनैतिक र भ्रष्ट आचरण मात्र नभई यौन दुर्वयवहार हो,’ आचार संहितामा भनिएको छ,‘हरेक कमाण्डरले आफूअन्तर्गतलाई यौनजन्य दुर्वव्यवहार र लैंगिक भेदभावरहित वातावरण बनाउनु कमाण्डरको नैतिक जिम्मेवारी हो।’

प्रतिक्रिया दिनुहोस
Advertisement