सेनामा रथी बढुवाको प्रक्रिया सुरु, हमालको नाम सिफारीस गर्ने तयारी


काठमाडौं– नेपाली सेनाले रथी बढुवाको लागी सुचना प्रकाशित गरेको छ । सेनाका बलाधिकृतरथी शरद गिरी गत शुक्रवार विदामा बसेपछि सेनाले रथी बढुवाको प्रक्रिया अघि बढाएको हो । सेनामा अवकास हुनु १५ दिनअघि विदामा वस्ने सैनिक परम्पराअनुसार रथी गिरी शुक्रवारवाट विदामा बसेका हुन् ।

रथी बढुवाको बोर्डको अध्यक्ष भने बलाध्यक्षरथी प्रभुराम शर्मा छन् । सैनिक मुख्यालयले बढुवाको लागी सात दिने सूचना समेत प्रकाशित गरेको छ । आगामी शुक्रवार बस्ने बोर्डको वैठकले हमालको नाम रथी बढुवाका लागी प्रधानसेनापति पूर्णचन्द्र थापासमक्ष पेश गर्नेछ ।

प्रधानसेनापतिले बोर्डको निर्णय अनुमोदन गरेपछि रक्षामन्त्रालयमा बढुवाको लागी हमालको नाम पठाईनेछ । सेनामा अर्का उपरथी राजेन्द्र कार्कीलाई रथीमा बढुवा गर्ने चलखेल भइरहेको चर्चा चलेपनि अन्ततः हमाल तीन तारे जर्नेलमा बढुवा हुन् लागेका हुन् ।सेनामा अहिलेसम्म वरियता मिच्ने काम भएको छैन् ।

बलाधिकृत गिरीले आगामी असार ६ गते लामो सैनिक सेवावाट अनिवार्य अवकास पाउंदैछन् । उनको ठाउंमा वरियताको आधारमा उपरथी ईश्वर हमाल सेनाको तीन तारे जर्नेलमा बढुवा हुनेछन् ।

उनी हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भएर पनि नेपालमै रहेका छन् । लकडाउनका कारण उनले उक्त जिम्मेवारी सम्हाल्न पाएका छैनन् । उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन् ।

हमाल नेपाली सेनामा २०४० कार्तिक २२ मा सैनिक अधिकृतका रुपमा सेवा प्रवेश गरेका थिए । सेनाको अर्को रथीमा भने प्रभुराम शर्मा बढुवा भइसकेका छन् । उनी हालका प्रधानसेनापति पूर्णचन्द्र थापापछि प्रधानसेनापतिको लाईनमा छन् ।

हमालको रथीमा बढुवासंगै शर्मा सेनाको सवैभन्दा शक्तिशाली मानिने बलाधिकृतरथीमा सरुवा हुनेछन् भने हमाललाई बलाध्यरथीको जिम्मेवारी मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement