हिउँपहिरोमा बेपत्ता कोरियन र नेपाली खोज्न सेनाकाे टाेली परिचालन


काठमाडौं – कास्कीको अन्नपूर्ण बेस क्याम्प नजिक हिउँपहिरोमा परी बेपत्ता भएका कोरियन पर्यटक र नेपाली गाईडहरुको खोज तथा उद्धारको लागि नेपाली सेनाको उद्धार टोली खटिएको छ । उक्त टोलीले प्राप्त सूचना, नेपाली गाईडका आफन्त तथा घटनास्थल नजिकै रहेको होटलको सहयोगमा खोजी कार्य जारी राखेको हो ।

हराएकाहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ । कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको हो ।

करिव ५ मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको र उक्त टोलीले नेपाली गाईडहरु पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ ।

कोरियन उद्धार टोलीले ल्याएको ‘मेटल डिटेक्टर’ ले चेक गर्दा सकारात्मक रिजल्ट आएको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताए ।

यद्यपि पत्ता लागेको ठाँउहरुमा मानिसबाट छोडिएका झोला, मोबाइल अथवा अन्य कुनै धातुजन्य वस्तुमात्रै पनि हुन सक्ने भुजेलको भनाइ छ ।

प्रविधिले पत्ता लगाएको ठाउँमा बेपत्ता भएकाहरुको खोजी गर्न हिउँ उत्खननका लागि नेपाली सेनाको तालिम प्राप्त १५ जनाको टोली हेलिकोप्टरमार्फत देउरालीमा अवतरण गरिसकेका छन् ।

गएको शुक्रबार भएको हिमपात र हिमपहिरोको कारण बेपत्ता भएका तीन नेपाली र चार कोरियाली पर्यटकसहित सात जनाको खोजी कार्य भइरहेको छ । त्यो क्षेत्रमा अत्यधिक हिउँ परेको कारण पग्लन समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement