अन्तर्राष्ट्रिय त्रिपिटक वाचनका लागि सेनाद्वारा सरसफाइ


काठमाडौं – चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एसोसिएशनको संयुक्त आयोजनामा यही माघ २५ र २६ गते चाबहिलस्थित चारुमती विहारमा हुन लागेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रमको तयारीका लागि नेपाली सेनाले आज सरसफाइ गरेको छ ।

नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न बौद्ध साहित्यको पाठ गर्न लागिएकाले कार्यक्रमलाई व्यवस्थित बनाउन विहार आसपास क्षेत्रमा सफाइ गरिएको हो ।

विहारका पदाधिकारी तथा स्थानीयवासीको समेत सहयोग रहेको सरसफाइ कार्यक्रममा त्यस क्षेत्रमा रहेका प्लास्टिक, बोरा र सिसाका टुक्रा सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको थियो ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रुपमा लिइएको छ ।

बुद्ध धर्ममा ज्ञान, ध्यान, धार्मिक, दर्शन, भिक्षुका आचारसंहितासम्बन्धी विषयलाई अभिधर्म, सूत्र र विनय गरी तीन भागमा सङ्ग्रह गरिएको छ । बौद्ध धर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा समेटिएको छ । त्रिपिटक पाली भाषामा लेखिएको महत्वपूर्ण ग्रन्थ हो ।

यो अन्य भाषामा समेत अनुवाद गरिएको छ । अन्तर्राष्ट्रिय तहका भिक्षुले उक्त ग्रन्थका केही वाक्यांश (पाठ) लाई सामूहिक रुपमा वाचन गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिनेछ ।

कार्यक्रमको प्रचारप्रसारबाट देशविदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको छ ।

नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र लाओसका करिब २०० भिक्षुभिक्षुणीको सो कार्यक्रममा सहभागिता रहनेछ । यही माघ २५ गते बहान चारुमती विश्व साइकल यात्रा गरी दिउँसो त्रिपिटक वाचन गरिने कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्मले जानकारी दिए ।

चाबहिलदेखि शुरु हुने साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनःकार्यक्रस्थलमा आउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement